रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएका कामदारको सकुशल उद्धार
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएका १७ कामदारको सकुशल उद्धार गरिएको छ । शुक्रबार विहान उनीहरुको सकुशल उद्धार गरिएको हो ।
बिहीबार राति ८ बजेतिर गएको सुख्खा पहिरोले सुरुङको प्रवेशद्वार थुनिँदा सुरुङभित्र काम गरिराखेका नेपाली र चिनीयाँ कामदार थुनिएका थिए ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार ११ नेपाली र छ चिनिया कामदारको शुक्रबार विहान सकुशल उद्धार गरिएको हो ।
भण्डारीले एक जना नेपाली कामदार सामान्य घाइते रहेको र अरु कामदार सकुशल रहेको पनि जानकारी दिनुभयो ।
रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका २ मा एक सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना निर्माणाधीन छ । सुरुङभित्र थुनिएकाहरुको उद्धारमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी खटिएका थिए । उद्धारपछि सबै कामदारको चिकित्सकले स्वास्थ्य जाँच गरेका थिए ।
Facebook Comments

