पोखरा विश्वविद्यालयले १ सय ५० शैयाको अस्पताल बनाउने

प्रयोगात्मक कक्षा संचालना समस्या भएपछि पोखरा विश्वविद्यालयले आफनै अस्पताल निमार्ण गर्ने भएको छ । पोखरा महानगरपालिका वडा नंम्वर ३० खुदी ढुंगेपाटन स्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय र प्राज्ञिक भवन कम्प्लेक्सको बीच भागको खाली जग्गामा विश्वविद्यालयले १ सय ५० शैयाको अस्पताल निमार्णका लागि भवन शिलान्यास गरिएको छ ।

निमार्ण हुने अस्पतालको विश्वविद्यालयका उपकुलपति प्राध्यापक चिरञ्जीवी प्रसाद शर्माले बिहिवार शिलान्यास गर्नुभएको हो । विश्वविद्यालयले स्कूल अफ मेडिसनको स्थापना गरी त्यसै अन्तर्गत अस्पताल सञ्चालन गर्ने तयारी स्वरुप भवन शिलान्यास गरिएको जनाएको छ ।

यसअघि विश्वविद्यालयमा सञ्चालित प्यारामेडिकल कोर्षहरूको प्रयोगात्मक अभ्यास पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, रामघाट, पोखरा, मनिपाल शिक्षण अस्पताल, फुलबारी, पोखरा, हिमालय आखा अस्पताल, घारीपाटन, पोखरा, तथा बि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवन लगायतका अस्पतालको सहकार्यमा सञ्चालन गर्दै आएको थियो । विश्वविद्यालयका रजिष्टार गोविन्द शर्माका अनुसार आफनै अस्पताल निमार्णसँगै विद्यार्थीहरुले सवै प्रयोगात्मक परिक्षा आफनै अस्पतालमा गर्न पाउने छन् ।

निर्माण हुने अस्पताल तत्कालका लागि कम्तिमा १ सय ५० शैयाको हुने र भविष्यमा आवश्यकता अनुसार विस्तार समेत गर्न सकिने विश्वविद्यालयले जनाएको छ । अस्पतालका लागि २६ रोपनी जग्गा छुट्याएको छ । ७ तले लिफ्ट सिस्टम सहितको अस्पताल भवन निर्माणका लागि ३५ करोडको लागत लाग्ने र २०७७ साल श्रावण सम्ममा निर्माण सम्पन्न गर्ने वताईएको छ ।

भवनको माथिल्लो तलामा हेलीप्याड समेत निमार्ण गरिने छ । विश्वविद्यालयबाट हेल्थ साईन्स अन्तर्गत विभिन्न विषयमा गरी वार्षिक ३ सय भन्दा बढी विद्यार्थी भर्ना हुने गरेका छन् ।

Facebook Comments