जनवादी क्रान्ति पुरा भयाेः प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले नेपालको जनवादी क्रान्ति पुरा भएकाे बताउनुभएकाे छ ।
४१ औं पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल प्रतिष्ठानले मंगलबार कीर्तिपुरको चम्पादेवीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालकाे जनवादी क्रान्ति माैलिक ढंगले पुरा भएको बताउनुभयाे ।
अध्यक्ष प्रचण्डले पार्टी एकता गरेर नेतृत्वलाई अझ परिपक्व बनाउने ठाउँमा आफुहरु आईपुगेको स्पष्ट पार्नुभयो । पार्टी एकता सुझबुझपूर्ण ढंगले गरिएकाे उहाँकाे भनाई थियाे ।
स्पष्ट विचार, राजनीति, विधि पद्धतिका आधारमा संगठनको निर्माण, कम्युनिष्ट मूल्य मान्यताका आधारमा कम्युनिष्ट पार्टीलाई अझ एकताबद्ध बनाएर लैजाने काममा सबै लाग्नुपर्नेमा अध्यक्ष प्रचण्डको जोड थियो ।

उहाँले पार्टी एकतालाइ मजबुत बनाउनका साथै सरकारका कामलाई सुशासन र विकासको मोडल प्रस्तुत गर्ने उद्देश्यका साथ जानुपर्ने बताउनुभयाे ।
अहिलेका कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता पुष्पलालका सन्तान र उत्तराधिकारी भएको अध्यक्षको भनाई थियो ।
अध्यक्ष प्रचण्डले विभाजन भएको पार्टीलाई एकताबद्ध गर्ने र शसस्त्र किसान संर्घष मार्फत जनवादी क्रान्ति पूरा गर्ने पुष्पलालको योगदानको चर्चा गर्दै पुष्पलालको सोच अनुसारकै विभाजित कम्युनिष्ट पार्टीलाई एकताबद्ध गरेकाे चर्चा गर्नुभयाे ।
पार्टी एकताका काम करिव निष्कर्षतिर पुगेको उल्लेख गर्दै प्रचण्डले अब केही बाँकी रहेका कामलाई औपचारिकता दिन मात्र बाँकी रहेको बताउनुभयो ।
कार्यक्रममा नेकपाका उच्च तहका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, विष्णु पौडेल, बामदेव गौतम, दीनानाथ शर्मा लगायतका नेताहरूकाे उपस्थिति रहेकाे थियाे ।

