पोखरा उद्योग वाणिज्य संघकाे बिरोधका कार्यक्रम स्थगित
आर्थिक वर्ष २०७६ साउन १ गतेदेखि लागु उद्योग, व्यापार तथा व्यवसाय क्षेत्रसँग सम्बन्धित आर्थिक ऐनले गरेका व्यवस्थाको विरुद्धमा चरणवद्ध आन्दोलनमा उत्रेको पोखरा उद्योग वाणिज्य संघले बिरोधका कार्यक्रम स्थगित गरेको छ ।
नेपाल सरकारले समस्या समाधानको लागि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, पदाधिकारी तथा जिल्ला नगर उद्योग वाािण्ज्य संघका अध्यक्षहरुको रोहवरमा समिति गठन गरी शुक्रबारसम्म प्रतिवेदन बुझाउन समय दिएकोले संघले आफ्ना विरोधका कार्यक्रम स्थगित गरेको हो ।
सरकारले लागु गरेको कर प्रणाली तथा एक ठाउँबाट अर्को ठाउँमा मालसामान ओसार पसार गर्दा वेभमा आधारित अनलाइन ढुवानी साधन अनुगमन प्रणाली ( भिसिटिएस) प्रति व्यवसायीहरुले आपत्ति जनाउँदै विरोध गरेका थिए ।
संघका महासचिव अर्जुन पोखरेलद्वारा मंगलबार जारी विज्ञप्तिमा प्रधानमन्त्रीको चासोपछि अर्थमन्त्रीसँग भएको छलफलमा मागबारे सकारात्मक वातावरण बनेको उल्लेख छ ।
विज्ञप्तिमा अर्थमन्त्री सकारात्मक भएकाले हाललाई पूर्ववत रुपमा मालसामान ढुवानीका साथै आफनो व्यवसाय गर्न व्यवसायीहरुलाई आग्रह गरिएको छ ।
विज्ञप्तिमा बिरोधका कार्यक्रममा उद्योगी व्यवसायीले दिएको साथप्रति धन्यवाद ज्ञापन पनि गरिएको छ ।


