पोखरामा कम क्षमताको फुटवल स्टेडियम बनाउन लागेकोप्रति राष्ट्रिय सभाका अध्यक्षको असन्तुष्टी

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले पोखरा रंगशालामा बनाउन लागिएको फुटवल स्टेडियम १ लाख दर्शक अटाउने क्षमताको बनाउनुपर्ने बताउनुभएको छ ।

प्रथम सृजना कप कास्की जिल्ला स्तरीय सामुदायिक मावि स्तरीय छात्र/छात्रा भलिवल प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै उहााले अब रंगशाला बनाउँदा तत्काललाई नभई भबिष्यसम्म हुने खालको बनाउनुपर्ने बताउनुभयो ।

उहाँले अबको ५०/१०० वर्षलाई टार्गेट गरेर बनाउनुपर्ने भएकाले १ लाख दर्शक हटाउने क्षमताको फुटवल स्टेडियम बनाउनुपर्ने बताउनुभयो । हाल १६ हजार ५ सय दर्शक क्षमताको फुटवल स्टेडियम बनाउन लागेकोप्रति तिमिल्सिनाले असन्तुष्टी व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सांसद दीपक कोइरालाले पोखरा रंगशालालाई अन्र्तराष्ट्रिय रंगशाला बनाउनबाट बञ्चित गर्ने खेल भएको बताउनुभएको छ । कम क्षमताको स्टेडियम बनाए अन्र्तराष्ट्रिय स्तरका खेलकूद नहुने उहाँको भनाई छ ।

अहिले भनिएको क्षमताको फुटवल स्टेडियम लेखनाथको भण्डारढिकमा बनाउन उपयुक्त हुने सांसद कोइरालाको भनाई रहेको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङले राखेपको वर्तमान नेतृत्व खस्केको खेलकुदलाई उकास्न लागिपरेको बताउनुभयो ।

कार्यक्रममा भलिवल खेलको विकास र बिस्तारमा योगदान दिएको भन्दै पश्चिमाञ्चल क्षेत्रीय भलिवल संघका संस्थापक अध्यक्ष श्रीभक्ती गुरुङ, पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव तथा सृजना विकास केन्द्रका प्रथम उपाध्यक्ष ईन्द्रप्रसाद पौडेल, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङ र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठलाई सम्मान गरिएको थियो ।

Facebook Comments