शैक्षिक गुणस्तर सुधार गर्न आवश्यक : मुख्यमन्त्री गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शैक्षिक गुणस्तर सुधारमा जोड दिनुभएको छ । उहाँले वर्तमानमा शिक्षण संस्था शैक्षिक वेरोजगार उत्पादन गर्ने कारखाना बनेको टिप्पणी गर्नुभयो । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित महेन्द्र माध्यमिक विद्यालयमा आयोजित शैक्षिक तथा धार्मिक महा महोत्सव कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।
विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनार्थ आयोजित शैक्षिक तथा धार्मिक महामहोत्सव तथा श्रीमद्भागवत धनधान्याचल विराट नवाह ज्ञानमहायज्ञको आयोजना गरिएको हो । उहाँले अब पाठ्यक्रम र पाठ्यपुस्तक समयानुकुल परिवर्तन गरी सबैले गति र मति सुधारेर शैक्षिक गुणस्तर वृद्धिमा लाग्नुको विकल्प नरहेको उल्लेख गनुृभयो ।
विद्यार्थीहरु निजी शिक्षण संस्था र विदेशमा पढ्न जाने क्रम अत्याधिक बढेको भन्दै मुख्यमन्त्री गुरुङले सरकारका तर्फबाट शिक्षामा ठूलो लगानी रहेपनि आशातित प्रतिफल भने प्राप्त हुन नसकेको बताउनुभयो । संघीयता देश र जनताका लागि राम्रो व्यवस्था भएको भन्दै उहाँले यसलाई महंगो भयो भनेर हल्ला गरी असफल बनाउने प्रयत्नप्रति सचेत हुनुपर्ने बताउनुभयो । प्रदेश सरकारले एक वर्षसम्म विकास र समृद्धिको जग तयार पारेको बताउनुभयो । प्रदेश सरकार शुन्यताबाट सुरु विकासको आधार तयार पारेको उहाँको भनाई थियो ।
कार्यक्रममा त्यस्तै प्रदेश सभा सदस्यहरु आशा कोइराला, दोवाटे विक, रोशनबहादुर गाहा मगर प्रदेशका मुख्य सचिव लक्ष्मीराम पौडेल, संविधानसभा सदस्य रामचन्द्र पोख्रेल लगायतले प्राविधिक शिक्षामा जोड दिर्दै प्रथामिकताका आधारमा विकास निर्माणका कार्यहरु गर्नुपर्ने बताएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयराज खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपाने, म्याग्दे गाँउपालिका प्रमुख मायादेवी राना, गाँउपालिकाका उपप्रमुख बालकृष्ण घिमिरे, नेकपाका जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ लगायतले बोलेका थिए ।
विद्यालयमा प्राविधिक शिक्षाको पूर्वाधार निर्माणका लागि आर्थिक स्रोत जुटाउन महायज्ञ आयोजना गरिएको आयोजकले जनाएको छ । १९ गतेसम्म सञ्चालन हुने श्रीमद्भागवत ज्ञानमहायज्ञबाट ५ करोड आर्थिक संकलन गर्ने लक्ष राखिएको छ । ज्ञानमहायज्ञमा बालयोगेश्वर महाराज प्रमुख वाचक रहनुभएको छ । महायज्ञमा विवाह, ब्रतबन्ध, तुलादान, चौरासीपूजा, लक्ष्यवर्ती लगायतका कार्यक्रम हुने बताइएको छ ।

