तिलगंगा आँखा प्रतिष्ठानलाई विश्व स्वास्थ्य सङ्गठनकाे सहकार्य केन्द्र
आँखासम्बन्धी उपचारमा ख्याति कमाएको तिलगंगा आँखा प्रतिष्ठानलाई विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले आफ्नो सहकार्य केन्द्र अर्थात् ‘कोलाबोरेटिङ सेन्टर’को रूपमा मान्यता दिएको विषयले निकै चर्चा पाएको छ।
उक्त प्रतिष्ठान स्थापना भएको २५ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी सोमबार एक कार्यक्रममा डब्ल्यूएचओको मान्यताको घोषणा गरिएको छ।
डब्ल्यूएचओको वेबसाइटमा उल्लेख गरिएअनुसार सन् २०१९ को जुन १० तारिखदेखि लागु हुने गरी चार वर्षका लागि प्रतिष्ठान डब्ल्यूएचओको सहकार्य केन्द्रका रूपमा रहनेछ।
डब्ल्यूएचओका अनुसार विभिन्न ८० राष्ट्रका ८०० सहकार्य केन्द्रहरूको परिवारमा पछिल्लो पटक तिलगङ्गा थपिएको छ।
मान्यताको महत्त्व
आँखा उपचार क्षेत्रमा यस्तो मान्यता पाउने तिलगंगा नेपालको पहिलो संस्था हो भने सार्क क्षयरोग तथा एचआइभी\एड्स केन्द्रपछिको नेपालको दोस्रो संस्था हो।
प्राज्ञिक, अनुसन्धान, उपचार र प्रशिक्षणको क्षेत्रमा एउटा उदाहरणीय नमुना भएकोले तिलगङ्गालाई उक्त मान्यता दिएको डब्ल्यूएचओले जनाएको छ।
आँखासम्बन्धी उपचारमा तिलगङ्गा मान्छेको आँखाको नानी झैँ प्रिय रहेको बताइन्छ।
प्रतिष्ठानले मान्यता पाएपछि त्यसका संस्थापक तथा कार्यकारी निर्देशक डा. सन्दुक रुइतले उक्त ‘हैसियत पाउनु सानो कुरा नभएको र कसैले दिएको नभई मेहनत गरेर पाएको’ बताउनुभएकाे थियाे ।
जनस्वास्थ्य मामिलाका जानकारहरूले पनि तिलगङ्गाले डब्ल्युएचओबाट पाएको मान्यता ‘ठूलो उपलब्धि’ भएको बताए।
जनस्वास्थ्य विज्ञ डा. रीता थापाले डब्ल्यूएचओको मान्यतासँगै तिलगंगा अन्तर्राष्ट्रिय ‘रेफरल सेन्टर’को रूपमा सम्मानित भएको बताउनुभयाे । ।
जनस्वास्थ्य मामिलाका जानकारहरूका अनुसार तिलगङ्गाले अब डब्ल्यूएचओबाट प्राविधिक, भौतिक संरचना र नीतिगत विकासमा समेत सहयोग पाउन सक्छ।
आँखासम्बन्धी सेवा प्रवाह, अनुसन्धान र दक्ष जनशक्ति उत्पादनको क्षेत्रमा तिलगङ्गाले आफूसँग सहकार्य गर्ने डब्ल्यूएचओले जनाएको छ।
डब्ल्यूएचओको मान्यतासँगै तिलगंगाका लागि अवसर र चुनौती दुवै थपिएको छ।
तिलगंगाले आँखासम्बन्धी थप अनुसन्धान र आफ्ना सेवाहरू अझ व्यापक गर्न डब्ल्युएचओको भरपर्दो काँध पाएको छ।
अनि चार वर्षका लागि पाएको मान्यतालाई फेरि निरन्तरता पाउन अझ बढी राम्रो काम गर्नु चुनौतीको रूपमा रहेको छ।
तिलगङ्गा आँखा प्रतिष्ठानको प्रतिबद्धता र उसको कामको प्रतिष्ठाले गर्दा सो मान्यतालाई निरन्तरता दिलाउन कठिन नहुने डा. थापाको ठम्याइ छ।
तिलगङ्गामा उपलब्ध हुने सेवा
प्रशासक बानियाँका अनुसार तिलगंगाले उपचारका साथै अनुसन्धान, आँखाको लेन्स निर्माण र विशेषज्ञ डाक्टर समेत उत्पादन गर्दै आएको छ।
आँखाभित्र मात्रै नौवटा विशिष्ठ सेवा दिँदै आएको छ।
प्रतिष्ठानले त्यसबाहेक आँखासम्बन्धी बर्सेनि १५\१६ वटा अनुसन्धानपत्र जर्नलहरूमा प्रकाशन गर्दै आएको छ।
करिब एक दर्जन जनशक्तिबाट शुरू भएको अस्पतालसँग ३९ डाक्टरसहित पाँच सयभन्दा बढी जनशक्ति छ।
देशको एक मात्र आँखा ब्याङ्क उसकै हो भने नेपालका विभिन्न १४ जिल्लामा प्रतिष्ठानका सामुदायिक आँखा केन्द्र सञ्चालनमा छन्।
तिलगंगाले उत्पादन गर्ने आँखाको लेन्स कैयौँ देशमा निर्यात हुँदै आएको छ।
डब्ल्यूएचओका अनुसार सन् १९९४ मा सञ्चालनमा आएदेखि तिलगंगाले हालसम्म १४ लाखलाई सेवा प्रदान गरिसकेको छ।
बीबीसी नेपालीबाट

