अस्पतालहरु अव प्रदेश सरकार मातहत सञ्चालन हुने
अबदेखि प्रदेशभित्र रहेका अस्पतालहरु सम्बन्धित प्रदेश सरकारले नै सञ्चालन गर्ने भएको छ । केन्द्र सरकारले प्रदेशभित्रका सबै अस्पताल सम्बन्धित प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले काठमाडौंमा एक कार्यक्रमबीच सातै प्रदेशका सामाजिक विकासमन्त्री समेतको सहभागितामा प्रदेशभित्रका सबै अस्पताल औपचारिक रूपमा नै प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले स्वास्थ्य सेवालाई सहज, सुलभ र प्रभावकारी बनाउने उद्देश्य सहित प्रदेश सरकारलाई नै प्रदेशभित्रका अस्पताल हस्तान्तरण गरिएको उल्लेख गर्नुभयो । साथै उहाँले हस्तान्तरण भएका अस्पताल प्रभावकारी ढंगले सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले केन्द्र सरकारले हस्तान्तरण गरेको अस्पताललाई आवश्यक बजेटको व्यवस्था केन्द्र सरकारले गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेशभित्रका अस्पतालहरूमा कार्यरत चिकित्सकहरूको व्यवस्थापनमा समेत प्रदेश सरकारको भूमिका निश्चित हुनुपर्ने मन्त्री पुनको माग रहेको छ ।

