जन्मदिनमा अवसरमा शैक्षिक सामाग्री र खाद्यान्न सहयोग

गण्डकी प्रदेश उपसभामुखका स्वकीय सचिव प्रकाश शर्माले आफ्नो २८ औं जन्मोत्सवका अवसरमा विपन्न वर्गका विद्यार्थी एवम् व्यक्तिलाई शैक्षिक सामाग्री र खाद्यान्न प्रदान गरेका छन् ।

शान्तिघाट टोल विकास संस्थाद्धारा आज यहाँ आयोजित एक कार्यक्रममा उनले पाँच जना विद्यार्थीलाई स्टेशनरी सामाग्री र छ जना व्यक्तिलाई जनही एक÷एक बोरा चामल सहित न्यानो कपडा प्रदान गर्नुभयो । वितरण समारोहमा गण्डकी सभाका सदस्य कृष्णबहादुर थापाले जन्मोत्सवमा गरिने खर्च कटौती गरि विपन्न वर्गका विद्यार्थी एवम् व्यक्तिलाई गरिने यस्तो सहयोग सवैका लागि अनुकरणीय हुने बताउनुभयो ।

पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रा.डा. दिलबहादुर क्षेत्रीले यस किसिमको सहयोगले समाजमा आपसि भाईचारा बढाउने बताउँदै बिभिन्न सन्दर्भमा गरिने खर्च कटौती गरि विपन्न वर्गका व्यक्तिलाई सहयोग गर्नु आवश्यक रहेकोमा जोड दिनुभयो ।

उपसभामुखका स्वकीय सचिव प्रकाश शर्माले जन्मोत्सवका अवसरमा सानो सहयोग गर्न पाउँदा आफु हर्षित बनेको बताउँदै आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने धारणा व्यक्त गर्नुभयो ।

टोल विकास संस्थाका अध्यक्ष वलराम पहारीको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी दामोदर शर्मा, हरिकृष्ण भट्टराई, शान्तिघाट आमा समूहकी अध्यक्ष निरुरानाभाट र लक्ष्मी पहारीले सानो सहयोगले पनि यस क्षेत्रका विपन्न परिवारलाई राहत मिलेको बताउनुभयो ।

Facebook Comments