डा. केसीका माग पूरा नगरे नेपाल चिकित्सक संघले आन्दोलन गर्ने
नेपाल चिकित्सक संघले अनशनरत् डा. गोविन्द केसीका माग पूरा गर्न सरकारलाई ७२ घन्टे ‘अल्टिमेटम’ दिएको छ । संघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी आइतबारसम्म पनि डा. केसीको माग पूरा गर्नेतर्फ सरकारले ध्यान नदिए आन्दोलनका कार्यक्रम अघि सार्ने जनाएको हो ।
काठमाडौंका सबै अस्पतालका चिकित्सकहरु भेला भइ आन्दोलनका कार्यक्रम अघि सार्ने पनि चिकित्सक संघले जनाएको छ । यसैवीच, डा. केसीको उपचारमा संलग्न चिकित्सकहरुले डा. केसीको स्वास्थ्य थप खस्किएको बताएका छन् । डा. प्रमेश श्रेष्ठ सहितको टोलीले उपचारपछि जारी गरेको ‘हेल्थ बुलेटिन’ मा डा. केसीको निद्रामा समस्या भएको र मांसपेसी बाउँडिने र कमजोरी बढेको उल्लेख छ ।
शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएपछि अक्सिजन दिइएको र पिसाबमा भने कुनै समस्या नदेखिएको हेल्थ बुलेटिनमा उल्लेख छ । यसैवीच डा. गोविन्द केसीको जीवन रक्षा गर्न नागरिक समाजका अगुवाले आग्रह गरेका छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसँगै महावीर पुन, अभी सुवेदी, स्वणिर्म वाग्ले लगायतले आज बिज्ञप्ति जारी गर्दै डा.केसीको जीवन जोखिममा परेकोमा ध्यानाकर्षण गराएका हुन् ।

