विभागीय टोली त्रिभुवन आर्मी आहा रारा फुटबल प्रतियोगिताको सेमीफाइनलमा
पोखरामा जारी आहा ! रारा फुटबल प्रतियोगिता अन्र्तगत आइतबार सम्पन्न दोश्रो क्वाटर फाइनल खेलमा बिजयी हुँदै विभागीय टोली त्रिभुबन आर्मी क्लब सेमी फाइनलमा प्रवेश गरेको छ । आर्मीका नवयूग श्रेष्ठले लगालग दुई गोल गरेपछि हिमालयन शेर्पा ३–१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट नै बाहिरिनुपरेको छ ।
खेलेको २७ औं मिनेटमा गोल गर्दै हिमालयन शेर्पाले आर्मीलाई १–० गोल अन्तरले पछाडि राखेपनि दोस्रो हाफ भने हिमालयन शेर्पाका लागि चुनौतिपूर्ण बन्यो । मैदानको वाँया भागको कर्नर नजिक बाट त्रिदेवको सटिक पासलाई विदेशी खेलाडी प्याट्रिक गोहाले हेड मार्फत गोल गरेका थिए ।

प्रतियोगिताको दोश्रो क्वाटर फाइनलको मध्यान्तरसम्म एक गोलले पछि परेको नेपाल आर्मीका नवयूगले ७१ औं र ८० मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता प्रदान गरे । खेलको ६५ औं मिनेटमा टंक बस्नेतको स्थानमा मैदान छिरेका जर्ज प्रिन्स कार्कीले ९१ औं मिनेटमा गोल गर्दै टिमलाई सेमीफाइनलको यात्रालाई थप सहज बनाए ।
खेल पछि प्रतिक्रिया दिंदै आर्मीका प्रशिक्षक नविन न्यौपानेले भुटानबाट लामो यात्रापछि आएको टिमले राम्रोसंग आराम गर्न नपाउँदै मैदान छिर्न परेकाले पहिलो हाफमा केही असहज भएको टिप्पणी गर्नुभयो ।
यता पराजित टिमका हिमालयन शेर्पा क्लबका म्यानेजर विजेन्द्र पुडाशैनीले आफ्नो टिमले खेलमा हार भए पनि उत्कृष्ट खेल पर्दशन गरेको बताउनुभयो । आयोजक सहारा क्लबका अनुसार सोमबारको तेश्रो क्वाटर फाइनल खेल भारतको सिक्कम यूनाइटेड र थ्रि स्टार क्लबका विच हुनेछ ।

