भरतपुर महानगरपालिकाले विपद् तथा प्रकाेपका घटनामा मृत्यु भएका परिवारलाइ १ लाख दिने
भरतपुर महानगरपालिकाले विपद् तथा प्रकोपका कारण निधन भएमा मृत्यु भएकाकाे परिवारलाइ १ लाख रूपैयाँ दिने भएकाे छ ।
विपद् तथा प्रकाेप व्यवस्थापन गर्न कोष सञ्चालनका लागि बनाइएकाे मापदण्डमा विपद् तथा प्रकाेपमा परी ज्यान गुमाउनेकाे परिवारलाइ १ लाख राहत स्वरूप उपलब्ध गराउने उल्लेख छ ।
महानगर भित्रको विपद् व्यवस्थापन सम्बन्धी कार्यलाई प्रभावकारी बनाउन ११ वटा नियमसहितको विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि तयार गरेको हो ।
विपद् तथा प्रकोप समितिको सिफारीसको आधारमा आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको महानगरपालिकाले जानकारी दिएको छ ।
महानगरपालिकाले बनाएको विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधिको कोष २०७६ मा विपद्बाट घर तथा खाद्यन्न नष्ट भएमा तत्कालका लागि १० हजार रुपैयाँ प्रदान गरिने उल्लेख गरिएको छ ।
विपद्का घटनामा परि खाद्यन्न, लत्ताकपडा र घर पूर्ण रुपमा नष्ट भएर अन्यन्त्र सार्नुपर्ने भएमा ५० हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको महानगरका विपद् व्यवस्थापन शाखाले जनाएकाे छ ।
काेषबाट भूकम्प, बाढी, पहिरो, आगलागी, असिनापानी, हुरीबतासका साथै अन्य प्रकोपका कारण भएको हवाई, सडक, एवम् डुङ्गा दुर्घटनाबाट प्रभावित पीडितहरुलाई राहत सहयोग उपलब्ध गराउने व्यवस्था छ ।
राहत उपलब्ध गराउँदा अनिर्वाय प्रहरी मुचुल्का समावेश गर्नुपर्ने मापदण्डमा उल्लेख छ । प्रकोपका पीडितलाई आश्रयस्थल निर्माण गर्न, सहुलियत दरमा निर्माण सामग्री काठ र उपचारका लागि अस्पताल पुर्याउने व्यवस्था गरिएको छ ।
कोष व्यवस्थापन एवंम् सञ्चालन, आर्थिक सहायता एवंम् पूर्वतयारी योजना, अधिकार प्रत्योजन, लेखा परीक्षण कोष सञ्चालन गर्नेगरि कार्यविधि तयार गरिएको महानगरपालिकाले जनाएकाे छ । महानगर भूकम्पका दृष्टिले उच्च जोखिममा रहेको बताईएको छ ।
त्यसपछि बाढी, वन्यजन्त आतंक, सर्पको टोकाई, हुरीबतासलाई प्राकृतिक विपद् महानगरले राखेको छ । त्यस्तै सडक दुर्घटना, माहामारी, डुवान, करेन्टलाई गैरप्राकृतिक प्रकोपमा वर्गीकरण गरेको छ ।
भरतपुर महानगरले यसअघि नगर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ जारी गरेको छ । विपद्को योजना, पूर्वतयारी, प्रतिकार्य, जोखिम न्यूनीकरण, उद्धार, राहत, पुर्नस्थापना, पुर्ननिर्माण जस्ता कार्यको विभाजन गरेको छ ।
विपद् व्यवस्थापनका लागि महानगरले दुई करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । उक्त कोषको रकम भिन्नै खाता खोलेर जम्मा गरिने मापदण्डमा उल्लेख गरिएको छ ।
महानगरले बाढीको रोकथाममा तटबन्ध, वन्यजन्तु नियन्त्रण गर्न मेस जालीसहितको तारबार, स्वास्थ्यका लागि बिमा, सडक दुर्घटनामा कम गर्न सिसी क्यामेराबाट निगरानी बढाउने जस्ता कार्यक्रम अघि सारेको जनाएको छ ।

