कस्यारघाटसमम पुग्ने बाटाको अवरोध स्थानीयले खुलाए

गत भदौ १४ गतेदेखि बन्द गराईएको पोखरा महानगरपालिका वडा नं २१ मा रहेको द्वार कस्यार घाटसम्म पुग्ने बाटो स्थानीयहरुले बिहिबार खुलाएका छन् ।
छुचीको गौँडादेखि कस्यार घाटसम्मको उक्त बाटो प्रयोग गर्दै आईरहेका स्थानीय समुदाय, संघ संस्थाका प्रतिनिधिहरुले पत्रकारहरुको रोहवरमा बाटो खुलाएका हुन ।

उनीहरुले बाटो बन्द गर्न प्रयोग गरिएको पर्खाल भत्काउनका साथै बाटो प्रवेशमा लगाईएको फलामको गेटमा लगाईएको ताला समेत फुटाई गेट नै हटाईदिएका छन् ।

उक्त जग्गा नेपाल स्वाभिमान प्रालि, अनिता सिंह र कुशल बरालले मनकामना केबल कार प्रालिका कृष्ण कुमार श्रेष्ठ संग खरिद गरेका हुन् । खरिद गरिएको जग्गा भारतीय आर्यूवेदिक कम्पनी पतञ्जलीले प्रयोग गर्ने बताईएको छ ।

बाटो खुलाउनुअघि बिहिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेकपा कास्की जिल्ला कमिटि सदस्य एवं साविक निर्मलपोखरी गाविसका पूर्व अध्यक्ष कमलमोहन पौडेलले भू माफियाहरुले जग्गा हडप्ने मनसायका साथ बाटो रोकेको आरोप लगाउनुभयो ।

“घाटमा जाने बाटो समेत रोकेर जनतालाई दुख दिने काम कुनै हालतमा गर्न पाईन्न” उहाँले भन्नुभयो । बाटोकै कारण उक्त स्थानमा सामाजिक संघ संस्थाहरु स्थापना भएको जानकारी दिँदै उनले बाटो बन्द हुँदा संघ संस्थालाई मात्र नभई ४६ घरधुरीका बासिन्दाले अफ्टेरो परेको थियो ।
बाटोको विषयमा छलफलका लागि आफूहरु पोखरा महानगरपालिकाको न्यायिक समिति सम्म पुगेपनि दोश्रो पक्ष अनुपस्थित भएको भन्दै निर्णय हुन नसकेको स्थानीय द्वार टोल विकास संस्थाका अध्यक्ष बोधराज आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरपालिकाले समेत आफूहरुको माग सुनुवाई गर्न आनाकानी गरेपछि एकतर्फी रुपमा बाटो खुलाउने निर्णय गरिएको हो । उक्त बाटोको दायाँ र बायाँ गरेर करिब ४३ रोपनी जग्गा हडप्ने मनसायले बाटो बन्द गराईएको स्थानीयहरुको आरोप रहेको छ ।

Facebook Comments