थ्री स्टार क्लब १७ औं संस्करणको आहा रारा गोल्डकपको फाइनलमा
रुस्लान थ्री स्टार क्लब १७ औं संस्करणको आहा रारा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । विभागीय टोली सशस्त्र प्रहरीकाे एपीएफ क्लबलाई टाइब्रेकरमा ४–२ पराजित गर्दै आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो ।
पोखरा रंगशालामा बुधबार निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको हो । प्रतिकूल मौषम भएका कारण खेलअघि नै दुवै टोलीले ९० मिनेटसम्म बराबरी भएको खण्डमा सिधै टाइब्रेकरमा पुग्ने सहमति गरेका थिए । यसअघिका खेलमा भने अतिरिक्त समय थप गरी खेलाइएको थियो ।

टाइब्रेकरमा रुस्लान थ्री स्टारका लागि रञ्जित धिमालले पहिलो प्रहार गोलमा परिणत गरे । लगत्तै एपीएफको लागि पहिलो पेनाल्टी लिएका गरेका सुदीप सिख्राकरको प्रहार क्रसबारमा लाग्दै बाहिरियो । थ्री स्टारका बुद्ध चेम्जोङको प्रहारलाई रोमन रसाइलीले विफल पारेपछि एपीएफका आशिष लामाले गोल गर्दै स्कोर बराबरमा ल्याए ।
सुनील बलले थ्री स्टारको तेस्रो प्रहार टप कर्नरमा गोल गर्दा एपीएफका सन्तोष कटुवालले पनि कुनै गल्ति गरेनन् । त्यसपछि थ्री स्टारका रुपेश केसीले सहजै गोल गर्दा एपीएफका विकि लामाले निकै खराब पेनाल्टी लिँदै प्रहारलाई पोस्टको दिशा दिन सकेनन् । त्यसपछि अनन्त तामाङले पाँचौ पेनाल्टीमा गोल गर्दै थ्री स्टारको फाइनल यात्रा तय गरे ।
दोस्रो सेमिफाइनलमा बिहीबार त्रिभुवन आर्मी क्लब र दाउफिन्स फुटबल क्लब खेल्नेछन् । प्रतियोगिताको फाइनल खेल शनिबार हुने आयोजकले जानकारी दिएको छ ।

