आन्दोलन फिर्ता लिन चिकित्सकलाई स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालले आन्दोलनरत सरकारी चिकित्सक संघ (गोदान)लाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम फिर्ता लिई नागरिकको उपचार पाउने अवसरलाई बन्चित नगर्न आग्रह गरको छ ।
‘स्वास्थ्य सेवा नै अवरुद्ध हुने गरी गरिने बिरोधका कार्यक्रमहरु नागरिकको स्वास्थ्य सेवा पाउने हकको बिरुद्ध हुने हुँदा स्वास्थ्य जस्तो संवेदनशील मानवीय जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा चिकित्सकहरुबाट भएका सम्पूर्ण बिरोधका कार्यक्रमहरु स्थगन गर्न मन्त्रालय हार्दिक अपील गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
मन्त्रालयका सहसचिव जनार्दन गुरागाईंले बुधबार चेतावनी सहितको विज्ञप्ति प्रकाशित गरी आन्दोलन स्थगित गर्न आग्रह गरिएको हो । आन्दोलन फिर्ता नलिए यसबाट हुनसक्ने प्रतिकुल असरको जवाफदेही चिकित्सक नै हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा सरकारीस्तरबाट सकारात्मक पहल हुँदाहुँदै पनि संघको आह्वानमा बिरोध भइरहेकोप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।


