माछापुच्छ्रेको मुख्यमन्त्री नमूना कृषि गाउँः भकारो सुधार देखी सिँचाई कुलो निर्माण

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रम अन्तर्गत नमुना कृषि गाउँको रुपमा छनोट भएको कास्कीको माछापुच्छ्रे गाउँपालिका, ३ घाचोक स्थित भलाबोटकाे खर्च सार्वजनिक गरिएकाे छ ।

मुख्यमन्त्री कृषि गाउँ कार्यक्रम अन्तर्गत गत वर्ष कृषि मन्त्रालय तथा स्थानीयको लागत साझेदारीमा रु २७ लाख ९१ हजार ३ सय ७७ बराबरको विभिन्न कार्यक्रम गरिएको जानकारी दिइएकाे हाे ।

कार्यक्रमकाे खर्चबारे कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा सहकारीका कोषाध्यक्ष पार्वती अधिकारीले जानकारी दिनुभएकाे हाे । ्

कृषि मन्त्रालयबाट रु २३ लाख ८८ हजार १ सय ७७ तथा जनसहभागिता रु ४ लाख ३ हजार २ सय गरी कुल बजेट कार्यान्वयन गरिएको हाे ।

नमुना कृषि गाउँको रुपमा छनोट भएको कास्कीको माछापुच्छ्रे गाउँपालिका, ३ घाचोक स्थित भलाबोटका कृषक उत्पादनको माध्यमबाट गाउँलाई चिनाउन लागि परेका छन् ।

सरकारको एक निर्वाचन क्षेत्र एक कार्यक्रम अन्तर्गत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट छनोट गरिएको सो गाउँका अन्नपूर्ण महिला प्राङगारीक कृषि सहकारी संस्थाले नमुना कृषि गाउँ निर्माणा कार्यमा संयाेजन गरिरहेकाे छ ।

उक्त सहकारीका सदस्यहरु कृषि उत्पादनका माध्यमबाट गाउँलाई नमूना बनाउन लागेका हुन् ।

सहकारीका सदस्यहरुले १५ रोपनी जमीनमा सामूहिक बदाम खेती गरेका छन् भने भकारो सुधार, प्लाष्टिक घर निर्माण, बीउ बैँकका लागि भण्डार कक्ष तथा कृषिका लागि सिँचाई कुलो निर्माण मार्फत उत्पादन बृद्धिका कार्यक्रम सञ्चालन गरेको सहकारीका कार्यबाहक अध्यक्ष मीना पोखरेलले जानकारी दिनुभयाे ।

लोपोन्मुख नगदेबालीका रुपमा रहेको बदाम खेतीको संरक्षण गर्ने उद्धेश्यले विगत १० वर्षदेखी सहकारीले सामूहिक बदाम खेती गर्ने गरेको छ । घाचोकमा उत्पादित बदाम अन्यत्रको तुलनामा आकारमा ठूलो तथा स्वादिष्ट हुने गरेको छ ।

सहकारीका सदस्यहरुको छलफलबाट आवश्यक विभिन्न १९ कार्ययोजना निर्माण गरेर कार्यक्रम कार्यान्वयन गरिएको हाे ।

यसैवीच कार्य प्रगति सार्वजनिकीकरण कार्यक्रममा बोल्दै गण्डकी प्रदेशसभा सदस्य रामजी प्रसाद बरालले सरकारको नितान्त नौलो कार्यक्रम छोटो समयमानै कार्यान्वयन गरेर महिलाहरुले उदाहरणीय काम गरेको बताउनुभयाे ।

कार्यक्रम गर्दै जाँदा केही कमजोरी तथा आलोचना हुने उल्लेख गर्दै सांसद बरालले भन्नुभयाे, ‘ मन्त्रालयदेखी सबै तिर अन्यौल रहेको अवस्थामा नितान्त नौलो र पृथक कार्यक्रम छोटो समयमानै तपाईहरुले कार्यान्वयन गरेर अत्यन्त प्रशंसनीय काम गर्नुभएको छ । आलोचनालाई पूँजीको रुपमा लिएर कमिकमजोरीलाई सच्चाउदै अघि बढ्न आग्रह गर्दछु।’

उत्पादन बृद्धि गरेर मात्र नमूना कृषि गाउँ सम्भव हुने भएकाले उत्पादनका माध्यमबाट पर्यटकलाई आकर्षित गर्न सांसद बरालले आग्रह गर्नुभयाे ।

गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले महिलाहरुको मात्र संस्थाले गाउँलाई नमूना बनाउने महत्वपूर्ण कामको शुरुआत हुनु प्रशंसनीय रहेको बताउनुभयाे ।

वडाध्यक्ष सूर्य लम्सालले कार्यक्रमबाट धेरै कृषकले फाइदा लिन सक्ने भएकाले निरन्तरताको आवश्यकतामा जोड दिनुभयाे । नेकपाका वडाध्यक्ष गोपाल पोखरेलले महिला, दलित लगायत पछाडी परेको समूदायलाई कार्यक्रमले प्राथमिकता दिनुपर्ने बताउनुभयाे ।

Facebook Comments