नेपाल एयरलाइन्सले जापान उडान गर्दै

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजबाट रु ३६ हजारमै जापान यात्रा तय गर्न सकिने भएको छ ।

आगामी भदौ १२ देखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौँ–ओसाकाको मूल्य अभिवृद्धि करसहित रु ३६ हजार ९९९ नयाँ भाडादर निर्धारण गरेको हो ।

उक्त गन्तव्यमा दुईतर्फी भाडा ७२ हजार ८१४ कायम गरिएको छ । निगमको यो प्रवद्र्धनात्मक भाडा हो । दशैँअघि पुनःअर्को भाडादर निर्धारण गरिने जनाइएको छ ।

निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्ने योजना बनाएको छ ।

निगमले वाइडबडी ए–३३० जहाजमार्फत ओसाका उडान गर्नेछ । काठमाडौँ–जापान उडानको समयावधि छ घण्टाको छ भने ओसाका–काठमाडौँ साढे सात घण्टाको उडान हुनेछ । निगमको उडान तालिकाअनुरुप एनए ४११ उडान नम्बरको जहाज काठमाडौँबाट ओसाका दिउँसो २ः३० बजे उडेर ओसाकाबाट राति ११ः५५ बजे काठमाडौँ अवतरण गर्नेछ ।

नेपाल–जापानबीचको द्विपक्षीय हवाई सम्झौताअनुसार निगमले जापानको हानेदा एयरपोर्ट बाहेकका अरु सबै विमानस्थलमा उडान तथा अवतरण गर्न पाउनेछन् ।

विसं २०७५ पुस २५ गते जापानका परराष्ट्रमन्त्री तारो कोनो नेपाल भ्रमणमा आएका बेला हप्तामा १४ उडान भर्ने गरी काठमाडौँ–नारिता हवाई सेवा सम्झौता भएपछि निगमले त्यसका लागि जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब) लाई पत्राचार गरेको थियो ।

जापानकै अर्को मुख्य गन्तव्य नारिता अन्तर्राष्ट्रिय विमानस्थमा उडान गर्ने प्रक्रिया अघि बढाएको छ । नेपाल पर्यटन बोर्डका अनुसार जापानबाट सन् २०१८ मा २९ हजार ८१७ पर्यटन नेपाल आएका छन् । सन् २०१७ मा २७ हजार ३२६ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।निगमले अहिले भारतको नयाँदिल्ली, बैङ्लोर, मुम्बई, मलेशिया, सिङ्गापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि हाल दुई वाइडबडी ए–३३० जहाज, दुई न्यारो बडी ए–३२० जहाज छन् । (रासस)

Facebook Comments