बाघ दिवस: दोब्बर सङ्ख्या पुर्याउने लक्ष्य सफल हुँदै

वन तथा वातावरण मन्त्रालयले यस वर्षको विश्व बाघ दिवसको केन्द्रीय कार्यक्रम सोमबार बाघ पाइने स्थानमा नै मनाउने योजनाअनुसार बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गतको कोहलपुरमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

सरोकारवाला सबैको सहभागितामा विभिन्न कार्यक्रम गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

यसबाहेक विभागले फिल्डस्तरको कार्यक्रम बाघ पाइने चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि स्थानीयस्तरको कार्यक्रम गरेको छ ।

पाटे बाघ विश्वका १३ देशमा पाइन्छ । विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रसियाको सेन्टपिटर्समा भएको सम्मेलनले बाघको संख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो ।

सो प्रतिबद्धताअनुसार नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या १सय २१ लाई दोब्बरभन्दा पनि बढी २ सय ५० वयस्क बाघ पुर्याउने प्रतिबद्धता गरेको थियो ।

जुन लक्ष्य हासिल हुने दिशामा नजिक रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।मन्त्रालयले गत वर्ष पछिल्लो राष्ट्रिय बाघ गणना २०१८ को नतिजा सार्वजनिक गरेको थियो । पछिल्लो उक्त गणनाअनुुसार नेपालमा बाघको सङ्ख्या २३५ पगेको छ ।

जसमध्ये चितवन राष्ट्रिय निकुञ्ज ९३, बर्दिया राष्ट्रिय निकुञ्ज ८७, बाँके राष्ट्रिय निकुञ्ज २१, पर्सा राष्ट्रिय निकुञ्ज १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका थिए ।

विभागले पर्सादेखि कञ्चनपुरसम्मको तराई क्षेत्रमा आधुनिक क्यामेराको प्रयोगले सन् २०१७ डिसेम्बर १ देखि सन् २०१८ अप्रिल ३ सम्म पछिल्लो बाघगणना गरेको थियो ।

नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ ।

नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा १९८ रहेको विभागको तथ्याङ्क छ ।

Facebook Comments