माैसमः चार प्रदेशकाे केही स्थानहरूमा भारी वर्षाकाे संभावना
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केेही उत्तरतर्फ नेपालको तराई भू-भाग नजिक रहेको छ।
जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १२ घण्टाको पानीको विवरण हेर्दा सबैभन्दा धेरै मोरङ जिल्लाको बिराटनगर एयरपोर्ट केन्द्रमा ११५.२ मिलिमिटर पानी परेको छ ।
महाशाखाले कोशी, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थान तथा बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा पानी परिरहेकाे उल्लेख गरेकाे छ । हाल कोशी र कर्णाली प्रदेशका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम पानी परिरहेको छ।
मंगलबार दिउँसाे तथा राती पनि देशभर साधारणतया बादल लाग्ने महाशाखाले जनाएकाे छ ।
दिनकाे समयमा देशको हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ भने देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे महाशाखाले उल्लेख गरेकाे छ ।
महाशाखाका अनुसार देशका तराई भू-भाग केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे छ भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
रातकाे समयमा कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागको थोरै स्थानमा मध्यमसम्मको वर्षा एवं हिमपातको सम्भावना छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग साथै मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा तथा कर्णाली प्रदेशका पहाडी भू-भाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे छ।
महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग तथा मधेश प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

