पोखरामा स्किल ब्रिज एकेडेमी स्थापना, शिक्षकका लागि निःशुल्क एआई तालिम
पोखराबाट स्किल ब्रिज एकेडेमीले आफ्नो सेवा सुरु गरेको छ । गुरुपूर्णिमाको अवसर पारेर सुरु गरिएको एकेडेमीले आफ्नो पहिलो सेवाका रूपमा शिक्षकहरूका लागि ३ दिनसम्म एआई र सूचना तथा सञ्चार प्रविधिसम्बन्धी निःशुल्क तालिम आइतवार सम्पन्न गरेको छ ।
साउन १५ गते शुक्रवारदेखि सुरु भएको तालिममा करिब १ हजार जना शिक्षकले निःशुल्क तालिम लिएका थिए ।
तालिम तथा एकेडेमीको उद्घाटन गर्दै शिक्षा तालिम केन्द्र, गण्डकी प्रदेशका प्रमुख प्रकाश देवकोटाले तीव्र गतिमा परिवर्तित समयमा भएको ज्ञानको दायरालाई व्यवस्थित गर्नका लागि स्किल ब्रिजले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयाे ।
शिक्षकले पेसागत जीवनलाई अर्थपूर्ण बनाउनका लागि सूचना तथा सञ्चार प्रविधिको उपयोग गर्नु अनिवार्य रहेको उहाँको भनाइ थियो ।
उहाँले सरकारी क्षेत्रबाट मात्र शिक्षकको क्षमता वृद्धिका लागि आवश्यकता पूर्ति गर्न सम्भव नरहेको अवस्थामा स्किल ब्रिजले शिक्षकको क्षमता वृद्धिलाई केन्द्रमा राखेर आफ्नो सेवा सुरु गर्नु सुखद पक्ष रहेको बताउनुभयाे ।
प्रविधिमैत्री शिक्षक समाज, नेपालका केन्द्रीय अध्यक्ष भूपति बश्यालले आजका शिक्षक प्रविधिमैत्री नभए प्रगतिको बाटो नै छेकिने बताउनुभयाे ।
एकेडेमीकी अध्यक्ष कमला श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षकहरू केआर ढकाल, खेमराज पौडेल र रुपिन्द्र प्रभावीले सहजीकरण गर्नुभएकाे थियाे ।
शिक्षकहरूका लागि सिकाइ सहजीकरणमा आवश्यक विभिन्न एआई टुलहरू र आइसिटीसम्बन्धी ३ दिनसम्म सहजीकरण गरिएको थियो ।

