सीमा समस्याकाे समाधान संवादकाे माध्यमबाट गर्नुपर्छः प्रचण्ड
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमा समस्या समाधानका लागि संवाद नै उपयुक्त हुने बताउनुभएकाे छ ।
यतिबेला मुलुकमा सीमा समस्याका सम्बन्धमा बलियो राष्ट्रिय एकताको माहोल निर्माण भएको पनि उल्लेख गर्नुभयाे ।
नेपाल–चाइना मिडिया फोरमले शुक्रबार काठमाडौँमा गरेको कार्यक्रममा प्रचण्डले उत्तेजना र आवेग या दाेषाराेपण गरेर नभइ संवादकाे माध्यमबाट सीमा समस्या समाधान गर्नुपर्नेमा जाेड दिनुभयाे ।
भारतसँग सुस्ता र कालापानी क्षेत्र सीमा समस्याका रुपमा रहेकाे भन्दै उहाँले चुनाैती माेलेर भएपनि समस्या समाधान गर्नुपर्ने बताउनुभयाे ।
राज्यले त्यसमा उचित ढङ्गको भूमिका देखाउनुपर्ने उहाँकाे भनाइ छ ।
यस्तै प्रचण्डले लिपुलेकबारे भारत र चीनले गरेको समझदारीप्रति आफूले त्यतिबेलै औपचारिक असहमति जनाएको स्मरण गर्नुभयाे ।
नेपाल, भारत र चीनको साझेदारीबारे पछिल्लो समय बहसको विषय बनेको ‘टु प्लस वान’को अवधारणा भन्दा त्रिदेशीय साझेदारी नै उपयुक्त हुने प्रचण्डकाे धारणा थियाे ।
अध्यक्ष प्रचण्डले त्रिदेशीय साझेदारीको सम्भावनाबारे चीन र भारतसँग सकारात्मक छलफल हुन थालेको बताउनुभयाे ।
चीन, अमेरिका या भारततिर ढल्कने भन्दा पनि नेपालकै बारेमा साेच्नु उपयुक्त हुने उहाँकाे भनाइ छ ।

