पाकिस्तानमा सेनाकाे विमान दुर्घटना हुँदा १७ जनाकाे मृत्यु, १२ घाइते
पाकिस्तानको रावलपिण्डी शहरमा मंगलवार बिहान पाकिस्तानी सेनाको एक विमान दुर्घटनाग्रस्त भएको छ । आवासीय क्षेत्रमा भएकाे साे दुर्घटनामा १७ जनाकाे मृत्यु भएकाे जनाइएकाे छ ।
रावलपिण्डीको बाहिरी क्षेत्रमा रहेको मोरा कालु गाउँमा विमान दुर्घटनाग्रस्त भएको हो ।
विमान खसेपछि आवासीय क्षेत्रमा आगो लागेको छ । अनेकौं घर ध्वस्त भएको समाचारमा जनाइएकाे छ ।
घटनामा १२ जना घाइते भएको बताइएको छ । केही घाइतेको अवस्था गम्भीर रहेकाे अधिकारीहरूले जनाएका छन् । मृत्यु हुनेमा ५ सैनिक रहेकाे र मृत्यु हुनेकाे संख्या बढ्न सक्ने बताइएको छ ।
पाकिस्तानी सेनाले दुर्घटनामा विमानका दुवै चालक मारिएको जानकारी दिएको छ । दुर्घटनापछि रावलपिण्डीका अस्पतालहरूमा संकटकाल घोषणा गरिएको छ ।
पाकिस्तानी सेनाको मुख्य कार्यालय रावलपिण्डीमा दुर्घटनापछि उद्धार कार्य बढाइएको छ ।
दुर्घटनाको कारणका बारेमा सेनाले केही खुलाएको छैन । यो विमान प्रशिक्षण उडानमा रहेको सेनाको भनाइ छ ।
एजेन्सीकाे सहयाेगमा

