लायन्स क्लब भृकुटीद्वारा स्वास्थ्य शिविर आयोजना
लायन्स क्लब अफ पोखरा भृकुटीले पोखरामा बुधबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । कार्यक्रममा करीब ३ सय जनाले स्वास्थ्य परिक्षण गराएको क्लवकी अध्यक्ष खिमा गुरुङले जानकारी दिनुभयो । इ.एन.टी केयर सेन्टर नयाँबजारको प्राविधिक सहयोगमा आयोजित शिविरमा नाक, कान घाँटी तथा थाइराइड रोगका बिरामीहरुको निःशुल्क उपचार गरिनुका साथै औषधि समेत वितरण गरिएको थियो ।
पोखराका वरिष्ठ नाक, कान तथा घाँटी रोग विषेशज्ञ डा.कृष्ण कोइरालाको नेतृत्वमा ५ जनाको टोली उपचारमा संलगन रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अन्तरास्ट्रिय डिस्ट्रीक ३२५ बी १ का सेक्रेटरी राम बस्यालले लायन्स क्लवले स्वास्थ्य शिक्षा लगायतका सामाजिक कार्यमा हातेमालो गर्दै आएको उल्लेख गर्नुभयो ।

उहाँले निःशुल्क स्वास्थ्य शिविरले निम्न वर्गीय परिवारलाई राहत मिल्ने धारणा व्यक्त गर्नुभयो । प्रायः गाउँतिर शिविरको आयोजना हुने गरेपछि सहरमा समेत विपन्न नागरिकहरु स्वास्थ्य सेवाको पहुँच बाहिर रहेकाले शिविर फलदायी हुने उहाँको भनाई थियो ।
पोखरा महानगरपालिका वडा नं. ९ का सचिव लोकदर्शन कोइरालाले सहरी क्षेत्रमा समेत विपन्न नागरिकहरु बसोबास गर्ने र उनीहरुको स्वास्थ्य शिक्षामा सहज पहुँच पुग्न नसकेको उल्लेख गर्नुभयो । यस्ता शिविरले विपन्न बर्गका नागरिकलाई मद्दत मिल्ने उहाँको धारणा थियो ।
क्लबकी गाइडिङ्ग लायन्स एवम् डिष्ट्रिक एड्भाइजर उर्मिला श्रेष्ठले बजार क्षेत्र भएपनि स्वास्थ्य सेवाको पहुँचबाहिर थुप्रै नागरिक रहेको पाइएकाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको बताउनुभयो ।
लायन्स क्लब अफ पोखरा भृकुटीकी अध्यक्ष खिमा गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन क्लबका कोषाध्यक्ष सम्झना रानाभाट र स्वागत प्रथम उपाध्यक्ष दुर्गा अधिकारीले गर्नुभएको थियो ।

