बाग्लुङमा लागु पदार्थ सेवन (लापसे)चेकजाँच गरिने
बाग्लुङमा लागु पदार्थ सेवन (लापसे)को चुनौती थपिएको छ। लापसे गरेर सवारी चलाउनेकाे संख्या बढ्न थालेपछि यसअघि मापसे चेकजाँच जस्तै लापसे चेकजाँच गरिने भएकाे छ ।
मादक पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउनेलाई कारवाही पश्चात सफलता प्राप्त गरेको नेपाल प्रहरीलाई फेरि लागु पदार्थ सेवन (लापसे)को चुनौती थपिएको छ।
मादक पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउनेलाई प्रहरीले कारवाही गरेपछि सवारी चलाउने सङ्ख्यामा ह्वात्तै कमी आएकाे छ ।
तर पछिल्लो समय लागु पर्दाथ सेवन (लापसे) गरेर सवारीसाधन चलाउने बढ्न थालेपछि बागलुङ जिल्लामै पहिलोपटक लापसे परीक्षण गरिने भएको हो।
सवारी चालकहरुले शरीरलाई लठ्ठ बनाउनका लागि मादक पदार्थको ठाउँमा लागु पदार्थ सेवन गर्न थालेको जनगुनासो बढ्न थालपछि जिल्ला प्रहरी कार्यालय बागलुङले लापासे जाँच गर्ने किट भित्र्याएको छ।
जिल्लामा लापसे जाँच गर्ने किट भित्रिएसँगै सवारी चालकहरु मात्र होइन, अभिभावकले आफ्ना छोराछोरीले लागुपदार्थ सेवन गरे/नगरेको घरमै जाँच्न सक्ने भएका छन्।
लागु पदार्थ सेवन एक जटिल सामाजिक कुरीतिका रुपमा रहेको हुँदा यसलाई निर्मूल पार्नका लागि लापसे परीक्षण गर्ने किट भित्र्याएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयाे ।
जिल्ला प्रहरी कार्यालय बागलुङले पहिलो चरणमा २० वटा किट ल्याएर लापसे परीक्षण गर्न थालेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। बजेट अभावका कारण पर्याप्त रूपमा किट खरीद गर्न नसकिएको भन्दै प्रहरी प्रमुख भट्टले स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्ने बताउनुभयाे ।
उहाँका अनुसार एउटा किटले लागुऔषधका छ वटा प्रकार परीक्षण गर्न सकिन्छ । लागु पदार्थ प्रयोगकर्ताले गाँजा, हिरोइन, इनजेक्सन, ट्याब्लेट जे प्रयोग गरेको भए पनि तत्कालै किटको सहायताबाट पत्ता लगाउन सकिने भएकाले समाज सुधारका लागि निकै ठूलो उपलब्धि हासिल गर्न सकिने भट्टको भनाइ छ।

