पोखरा विश्वविद्यालयका स्ववियूले काम गर्न पाउने

पोखरा विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पदाधिकारीले आफना कामलाई निरन्तरता दिन पाउने भएका छन् । स्ववियूको काम कारबाही नरोक्न उच्च अदालत पोखराले यसअघि जारी गरेको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

स्ववियु सभापतिसहित ३ जनाले माघ ३ गते दायर गरेको रिटमा ४ गते अदालतले अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीशद्वय जीवनहरि अधिकारी र सुभाष पौडेलको इजलासले माघ ४ गतेको अन्तरिम आदेशलाई निरन्तरता दिएको अदालतका रजिस्टार जीतेन्द्रबाबु थपलियाले जानकारी दिनुभयो ।

बुधबार दुवै पक्षको छलफलपछि यस्तो आदेश दिइएको हो । विश्वविद्यालयलाई विपक्षी बनाएर स्ववियु सभापति सुनील तिमिल्सिना, सचिव सुरज परियार र सदस्य प्रकृति दवाडीका तर्फबाट रिट दायर भएको थियो ।

‘विश्वविद्यालयको पछिल्लो सभाले गरेको निर्णय अनुसार कार्यकारी परिषदले स्ववियुको पदावधि थप गर्ने र नगर्ने सम्बन्धमा निर्णय गरी सभामा पेस नगरुन्जेल वा यो निवेदनको टुंगो नलागेसम्म जुन पहिला हुन्छ सो अवधिसम्म स्ववियुका तर्फबाट गरी आएका कामकारबाही गर्न कुनै प्रकारको अवरोध नगर्नू,’ आदेशमा उल्लेख गरिएको छ । विश्वविद्यालय सभा नियमावली संशोधन गर्न अधिकारप्राप्त निकाय भएको र अन्तिम निर्णय गर्ने अधिकार रहेको अदालतले ठहर गरेको छ ।

Facebook Comments