खतिवडा पुनः अर्थमन्त्री नियुक्त

मंगलबार मात्र पदबाट राजीनामा दिनुभएका डा. युवराज खतिवडा पुनः अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्नुभएकाे छ ।

प्रधानमन्त्रीकाे सिफारिसमा राष्ट्रपतिले खतिवडालाई बुधबार पुनः अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त गर्नुभएकाे हाे ।

नवनियुक्त मन्त्री खतिवडाले बुधबार अपरान्ह पद तथा गोपनियताको सपथ लिने कार्यक्रम रहेकाे छ । दिउँसो चार बजे राष्ट्रपति कार्यालय शितल निवासमा सपथकाे समय ताेकिएकाे छ ।

दुई वर्षअघि संसदीय चुनाव भएपछि संसद नरहेका व्यक्ति मन्त्री भएको यो पहिलो पटक हो। खतिवडा यसअघि राष्ट्रिय सभा सदस्यको सँगै मन्त्री बन्नुभएकाे थियाे ।

यसपटक भने नेकपामा अान्तरिक विवाद भएकाले खतिवडा राष्ट्रिय सभा सदस्य बन्ने या नबन्ने निश्चित छैन् । नेकपाकाे सचिवालय बैठकले पार्टीका उपाध्यक्ष बामदेव गाैतमलाइ राष्ट्रियसभा सदस्य बनाउन सुझाव दिएकाे छ ।  

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य नियुक्त भएका खतिवडाको कार्यकाल मंगलबार सकिएको थियो।

संघीय सांसद नभएको व्यक्ति पनि छ महिनासम्म मन्त्री हुन सक्ने संवैधानिक व्यवस्था छ।  

Facebook Comments