प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त
नेपाल प्रहरीले नयाँ प्रमुख आइजिपी पाएकाे छ । प्रहरी संगठनकाे नेतृत्व ठाकुर ज्ञवालीकाे हातमा आएकाे छ ।
आज (मंगलबार) बसेको मन्त्री परिषद बैठकले नेपाल प्रहरीको २७ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा ठाकुर ज्ञवालीलाई नियुक्त गरेको हो ।
ज्ञवालीलाई आईजीपी बनाउन गृह मन्त्रालयले तयार पारेको प्रस्ताव गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गृह सचिव महेश्वर न्यौपानेले मन्त्रीपरिषदमा पेश गरेका थिए । यसअघि सोमबार बसेको मन्त्रिपरिषद बैठकले आईजीपीबारे निर्णय लिन सकेको थिएन ।
हालका आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले ३० वर्षे सेवाहदका कारण आजबाट अवकाश पाउँदैछन् । ३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे ज्ञवाली ५ महिना आईजीपी बन्नेछन् ।
निवर्तमान आइजिपी सर्बेन्द्र खनाल लगायत साे व्याचका १७ प्रहरी नायब महानिरीक्षकले ३० बर्षे सेवा हदका कारण अनिवार्य अवकाश पाएका छन् । अघिल्लाे व्याचका सबै ३० बर्षे सेवा हदका कारण अनिवार्य अवकाशमा परेपछि ज्ञवालीकाे हातमा नेतृत्व आएकाे हाे ।
यसैवीच प्रहरी प्रधान कार्यालय, नक्सालले खनालकाे विदाइमा विदाइ समारोह गरेकाे छ ।
खनालसँगै मंगलबारबाट ३० वर्षे सेवा हदका कारण तीन एआईजी र १७ प्रहरी नायब महानिरीक्षक (डीआईजी) ले अवकाश पाएका छन् । अवकाश पाउने अधिकृतलाई विदाइ गर्ने प्रहरीको परम्परा अनुसार मंगलबार साँझ औपचारिक समारोह राखिएको थियो ।
यसैवीच निवर्तमान आईजीपी खनाल र तीन एआईजीसहित डीआईजी राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, सुरेशविक्रम शाह, केदार रिजाल, शेरबहादुर बस्न्यात, पीताम्बर अधिकारी, दिनेश अमात्य, नारायणसिंह खड्का, कमल जिटी र महेन्द्रकुमार पोखरेलले पनि अवकाश पाएका छन् ।
त्यस्तै, डीआईजी महेशविक्रम शाह, दानसिंह बोहोरा, रामप्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, पूर्णचन्द्र जोशी र हरिभक्त प्रजापतिले पनि अनिवार्य अवकाश पाएका छन् ।
उनीहरुमध्ये डीआईजी बस्न्यात बागमती, घिमिरे गण्डकी, शाह ५ नं प्रदेश र जोशी कर्णाली प्रदेश प्रमुख थिए । उनीहरुको विदाइ त्यहीँ भयो ।

