के छ कोरोनाको विश्वव्यापी अवस्था
कोरोना भाइरस(कोभिड–१९)को कारण विश्वव्यापी प्रभाव परेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार यो रोगका कारण हालसम्म १ लाख ६८ हजार १९ जना संक्रमित भएका छन् भने ६ हजार ६ सय १० जनाको मृत्यु भएको छ ।
जसमध्ये सबैभन्दा धेरै चीनमा ३ हजार २ सय १८ जनाको मृत्यु भएको छ भने ८१ हजार ७७ जना संक्रमित भएका छन् ।
चीनले यो संक्रमणलाई नियन्त्रणमा आउन लागेको बताएको छ । चीन सरकारले कोरोना भाइरस विरुद्धको खोपको विकासका लागि भएका अनुसन्धान समेत सकारात्मक रहेको बताएको छ ।
चीनपछि कोरोना भाइरसको प्रभाव युरोपेली मुलुक इटालीमा देखिएको छ । इटालीले सम्पूर्ण देशमा नै संकटकाल लगाएको छ । आपतकालीन अवस्थामा बाहेक घरबाट ननिस्कन नागरिकहरुलाई अपिल गरेको छ ।

इटालीमा हालसम्म १ हजार ८ सय ९ जनाको मृत्यु भएको छ भने २४ हजार ७ सय ४७ जनामा संक्रमण भएको छ ।
इटालीपछि यसको बढी प्रभाव पर्ने मुलुक इरानमा हालसम्म ८ सय ५३ जनाको मृत्यु भएको छ भने १४ हजार ९सय ९१ जनामा संक्रमण भएको छ ।
त्यस्तै कोरियामा हालसम्म ७५ जनाको मृत्यु भएको छ भने ८ हजार २ सय ३६ जना संक्रमित भएका छन् ।
त्यस्तै स्पेनमा समेत कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएको छ । स्पेनमा २ सय ८८ जनाकोमृत्यु भएको छ भने ७ हजार ७ सय ५३ जना संक्रमित भएका छन् ।
यो रोगले फ्रान्समा समेत १ सय २७ जनाको मृत्यु भएको छ भने ५ हजार ३ सय ८० जनामा संक्रमण देखिएको छ ।
अमेरिकामा समेत कोरोना भाइरसको संक्रमणका कारण ४१ जनाको मृत्यु भएको छ भने १ हजार ६ सय ७८ जनामा संक्रमण देखिएको छ ।
बेलायतमा हालसम्म ३५ जनाको मृत्यु भएको छ भने १ हजार ३ सय ९५जनामा संक्रमण देखिएको छ ।
स्वीजरल्याण्डमा समेत कोरोना भाइरसको संक्रमणका कारण संकटकाल घोषणा गरिएको छ ।
उक्त मुलुकमा १३ जनाको मृत्यु भएको छ भने २२ सय जनामा संक्रमण देखिएको छ ।
नेपालको दक्षिण छिमेकी मुलुक भारतमा १ सय १४ जनामा यसको संक्रमण देखिएको छ । २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
नेपालमा हालसम्म १ जनामा संक्रमण देखिएको र उपचारपछि निको भएको विश्व स्वास्थ्य संगठनको रिपोर्टमा उल्लेख छ ।
पाकिस्तानमा ५२ जनामा यो रोगको संक्रमण देखिएको छ ।

