काेराेना भाइरसले सयाैं विरामी भएकाे अनुमान
चीनबाट फैलिएकाे ठानिएकाे काेराेना भाइरसकाे संक्रमण सयाैंमा भएकाे हुनसक्ने बिबिसीले उल्लेख गरेकाे छ ।
बिबिसीका अनुसार २ जनाकाे काेराेना भाइरसका कारण मृत्यु भइसकेकाे छ भने ४५ जनामा याे भाइरसकाे संक्रमण पुष्टी भएकाे छ । सार्वजनिक भएकाे तथ्याकंभन्दा धेरैमा याे भाइरसकाे संक्रमण भएकाे हुन सक्ने बिबिसीकाे समाचारमा उल्लेख छ ।
चीन, हङकङ, जापान र थाइल्यान्डमा देखिएको नयाँ खालको कोरोना भाइरसको जोखिममा नेपाल पनि परेको भन्दै विश्व स्वास्थ्य संगठनले सचेत गराएकाे छ ।
जोखिम बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उच्च सतर्कता अपनाएकाे जनाएकाे छ ।
महाशाखाका अनुसार यो भाइरसको संक्रमण नेपालमा देखिएको अहिलेसम्म पुष्टि भएको छैन।
चीन, हङकङ, जापान र थाइल्यान्ड लगायतका देशमा याे भाइरसबाट १७ सय मानिसमा संक्रमण भएकाे शंका गरिएकाे छ ।
नेपालमा समेत ती मुलुकबाट धेरै मानिसको आवतजावत हुने भएकाले याे भाइरसकाे जाेखिम बढेकाे हाे ।
चीनबाट नेपालमा धेरै पर्यटक नेपाल भित्रिने भएकाले उच्च जोखिममा रहेकाे ठहरसहित महाशाखाले विमानस्थलको हेल्थ डेस्कले प्रभावित राष्ट्रबाट आएका व्यक्तिको विवरण संकलन गर्ने र विभिन्न अस्पतालसँग समन्वय गरिरहेको छ ।
केही दिनअघि चीनमा अध्ययनरत एक नेपाली विद्यार्थी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा स्वास्थ्य जाँचका लागि पुगेका थिए। अस्ताल श्राेतका अनुसार ती विद्यार्थीकाे विशेष निगरानीमा उपचार भइरहेको छ ।
‘चीनमा यो भाइरस देखिएकाले ती विद्यार्थी जाँचका लागि अस्पताल आएका हुन्,’ उनले भने, ‘उनमा कोरोना भाइरस नै देखिएको भन्ने कुरा अहिलेसम्म प्रमाणित भएको छैन।’

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार कोरोना भाइरसको समूह हो। जसले विशेषगरी श्वासप्रश्वास प्रणालीमा असर गर्छ। कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्छ। यसले सामान्य रुघाखोकीदेखि निमोनिया गराउने अनि मानिसको मृत्युसम्म हुन्छ।
अहिले देखिएको कोरोना भाइरस नयाँ प्रकारका हो। जुन पहिले मानिसमा पहिचान भएको थिएन। डब्लुएचओका अनुसार कोरोना भाइरसले मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम (मार्स) र सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स) को समस्या निम्त्याउँछ। यस्ताे समूह पशु र मानिस दुवैमा देखिने बताइएकाे छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा विवेक कुमार लालका अनुसार नेपालमा यो भाइरस पत्ता लगाउने प्रविधि नै छैन।
कोरोना भाइरसले संक्रमण गर्दा उच्च ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वासमा गाह्रो हुने लक्षण देखिन्छ। यसको लक्षण फ्लुसंग मिल्दोजुल्दो हुन्छ, त्यसैले रुघाखोकी लागेका व्यक्तिबाट हामी सतर्क रहन चिकित्सककाे सुझाव रहेकाे छ ।

