जनकपुरधाममा पैसा छर्ने महिलाकाे कोरोना एन्टीबडी पाेजेटिभ
शुक्रबार जनकपुरधाममा २ महिलाले रकम छरेकाे समाचार सार्वजनिक भएकाे थियाे । पैसा छरेर महिलाहरू फरार भएपछि स्थानीय त्रसित भएका थिए ।
यसैवीच पैसा छरेर फरार भएका दुई महिलामध्ये एक जनाको र्यापिड (आरडीटी) विधिबाट गरिएको परीक्षणमा कोरोना एन्टीबडी पोजेटिभ देखिएको छ ।
शुक्रबार जनकपुरधाम उपमहानगरपालिका ६ स्थित महाबीर चोकमा १० रुपैयाँको झण्डै १५ वटा नोट छरेर भागेका २ महिलालाई शनिबार प्रहरीले जानकीनगरस्थित घरबाटै नियन्त्रणमा लिएको हाे ।
पक्राउ पर्नेमा आमुना खातुन र अलिना खातुन छन् । नातामा यी दुवै जना नन्द र भाउजु रहेकाे बताइएकाे छ ।
दुबैलाई नियन्त्रणमा लिएर प्रादेशिक अस्पताल जनकपुरधाम लगी स्वास्थ्य परीक्षण गराउँदा एक जनाको र्यापिड टेस्ट पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालय, धनुषाले जनाएकाे छ ।
पिसिआर विधिबाट परीक्षणका लागि स्वाब कलेक्सन गरी जनकपुर प्रादेशिक अस्पतालमा पठाइएकाे छ ।
उनीहरूले के उद्देश्यले पैसा छरेका हुन् भन्ने बारेमा अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । पैसाका माध्यमबाट समेत काेराेना भाइरस सर्न सक्ने भन्दै नाेटहरूलाइ समेत स्यानीटाइज गर्न यसअघि राष्ट्र बैंकले निर्देशन दिएकाे छ ।

