चीनबाट स्वास्थ्य सामग्री ल्याइने
कोभिड–१९ को सङ्क्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री चीनबाट ल्याइने भएकाे छ ।
चीनसँग स्वास्थ्य सामग्री खरिद गर्ने प्रक्रिया टुङ्गिएको नेपाली सेनाले जानकारी दिएको छ ।
मंगलबार जङ्गी अड्डामा पत्रकार सम्मेलन गर्दै सेनाले चिनियाँ पक्षसँग खरिद सम्झौता सम्पन्न भई रकम समेत भुक्तानी भइसकेकाे जानकारी दिएकाे हाे ।
सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले चीनबाट ३४२ टन स्वास्थ्य सामग्री सरकार–सरकार (जिटुजी) प्रक्रियाबाट खरिद गर्ने चरणमा प्रवेश गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार ६७ प्रकारका स्वास्थ्य सामग्री खरिदका लागि सोमबार नै चिनियाँ पक्षलाई रकम भुक्तानी गरिसकिएको छ ।
स्वास्थ्य उपकरण खरिदका लागि एक करोड ८४ लाख ४१ हजार ७०६.३५ अमेरिकी डलर भुक्तानी भइसकेको छ ।
नेपालले भुक्तानी गरेको रकम पाइसकेको पनि चिनियाँ पक्षले जानकारी दिइसकेको उहाँले बताउनुभयो ।
स्वास्थ्य सामग्री खरिदका लागि चीन सरकारको स्वामित्वमा रहेको चाइना साइनोफार्म इन्टरनेशनल कर्पोरेशनसँग सम्झौता गरिएकाे हाे ।
सम्झाैता अनुसार १ हप्तापछि प्राथमिकताका अनुसार स्वास्थ्य सामाग्री हवाइ तथा स्थल मार्गबाट नेपाल ल्याइनेछ ।
ग्वान्जाओबाट तातोपानी नाकासम्म सामान ढुवानी गर्न करिब सात दिन लाग्ने जानकारी आएको उहाँले बताउनुभयो ।
अत्यावश्यक बाहेकका सामग्री सडक मार्गबाट ढुवानीका लागि छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।
व्यक्तिगत सुरक्षाका सामग्री (पिपिइ), मास्क, कोरोना परीक्षणका लागि आवश्यक कीटलगायत अत्यावश्यक सामग्री हवाई र अन्य सामग्री सडक मार्ग हुँदै ल्याउने तयारी गरिएको छ ।
प्रवक्ता पाण्डेले भारतबाट कोभिड–१९ का बिरामीलाई दिइने औषधि खरिद गर्ने विषयमा पनि छलफल भइरहेको बताउनुभयो ।
यसअघि स्वास्थ्य सेवा विभागबाट भएकाे खरीद प्रक्रियामा अनियमतिता भएकाे भन्दै जनस्तरबाट समेत विराेध भएपछि सम्झाैता नै रद्द गर्नुपरेकाे थियाे ।

