भारतबाट एम्बुलेन्समा आएका चितवनका २ जनामा काेराेना संक्रमण
चितवनका दुई जना कोरोना सङ्क्रमित भारतको दिल्लीमा क्यान्सरकाे उपचार गरेर फर्किएका दम्पत्ती भएकाे खुलेकाे छ ।
उनीहरू दिल्लीकाे राजीव गान्धी अस्पतालमा क्यान्सरको उपचार गराएर यही जेठ ३ गते एम्बुलेन्स परिवर्तन चितवनकाे भरतपुरस्थित घरमा आएका हुन् ।
भरतपुर महानगरपालिका–६ केशरबाग निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला आँफै काेराेना परीक्षणका लागि आएकाे बताइएकाे छ ।
शुक्रबार भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । बुबा आमासँगै दिल्ली गएका जेठो छोरामा भने सङ्क्रमण देखिएको छैन ।
उहाँहरु भारतबाट एम्बुलेन्समा कपिलवस्तुको कृष्णनगर नाकाबाट स्वदेश प्रवेश गर्नुभएको थियो । घरमा पनि सेल्फ क्वारेन्टिनमा बसेका दम्पत्तीकाे परिवारका ८ जनासँग मात्र सम्पर्क भएकाे बताइएकाे छ ।
सङ्क्रमण देखिएपछि भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखाले आज कन्टयाक्ट ट्रेसिङ गरेको हाे ।
सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा आफ्नै परिवारबाहेक अन्य कोही पनि सम्पर्कमा नआएको स्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सङ्क्रमितको घरमा आठ जना मात्रै बस्दै आएका थिए । उनीहरुको एक सातापछि पिसीआर विधिबाट कोरोना परीक्षण गरिने जनाइएको छ ।
अहिले सङ्क्रमित देखिएको टोललाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । प्रहरीले सो टोलमा आवातजावत गर्न बन्देज लगाएको छ ।
यस्तै नवलपरासी पूर्व विजय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुषको पनि भरतपुर कोरोना अस्पतालमै उपचार भइरहेको छ । अहिले सो अस्पतालमा चार सङ्क्रमितको उपचार भइरहेको छ ।
यसअघि सङ्क्रमण पुष्टि भएका राप्ती नगरपालिकाका दुई आमा छोरा निको भएर घर फर्किसकेका छन् भने एक महिलाको काठमाडौँमै उपचार भइरहेको छ ।

