भरतपुर काेराेना अस्पतालबाट मास्क, सेनिटाइजर लगायतका सामान चाेरी, छानविन समिति गठन
चितवनको भरतपुर अस्थायी कोरोना अस्पतालको स्टोरबाट चप्पल, मास्क, सेनिटाइजर फ्यान लगायतका सामग्री चोरी भएकाे छ ।
चाेरीकाे सिसिटिभी फुटेज सार्वजनिक भएपछि भरतपुर महानगरपालिकाले छानबिन समिति बनाएको छ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु पौडेलको संयोजकत्वमा महानगर र अस्पतालका एक/एक जना सदस्य रहने गरी तीन सदस्यीय समिति गठन गरिएकाे हाे ।
कोरोना अस्पतालको स्टोरमा रहेका सामान कर्मचारीले चैत ३० गते राती ९ः३०काे समयमा निकाल्दै गरेकाे सिसिक्यामेरा भिडिओ सञ्चारमाध्यमबाट बाहिरिएकाे थियाे ।
अस्पतालका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र महानगरका स्वास्थ्य शाखा अधिकृत सूर्य तिवारीले अस्पतालको स्टोरबाट सामग्री निकालेकाे देखिएकाे छ ।
सामान निकाल्ने कर्मचारीलाई महानगर र अस्पतालले फिर्ता बोलाइसकेको छ । छानविन समितिले दिने रिपाेर्टपछि कानुन बमाेजिम कार्वाही हुने भरतपुर महानगरपालिकाले जनाएकाे छ ।
कोरोना अस्पताल भरतपुर अस्पताल मातहत वैशाख १ देखि सञ्चालनमा छ। यसैवीच नेपाली काँग्रेस चितवनले सामान चाेरीकाे घटनाकाे निष्पक्ष छानविन र दाेषिमाथि कार्वाहीकाे माग गरेकाे छ ।

