दार्चुलामा जयसिंह धामी महाकालीमा खसेर बेपत्ता हुँदा एसएसबीकाे उपस्थिति थियाेः छानबिन समिति
गत साउन १५ गते दार्चुलामा महाकाली नदीमा तुइनबाट तर्न लाग्दा नेपाली नागरिक खसेर बेपत्ता भएकाे घटनाकाे छानबिनका लागि गठित समितिले प्रतिवेदन बुझाएकाे छ ।
तुइनबाट नेपाली नागरिक महाकाली नदीमा खसेको घटना भारतीय सुरक्षाकर्मीको उपस्थितिमा भएको निष्कर्ष समितिले निकालेको छ ।
गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम संयोजकत्वको छानबिन समितिले ब्याँस गाउँपालिका- २ का जयसिंह धामी महाकाली नदीमा खसेको घटनामा भारतीय सुरक्षाकर्मी एसएसबीको उपस्थितिमा भएको निष्कर्ष निकालेको हो ।
यसअघि स्थानीयले एसएसबीले तुइनकाे लठ्ठा काटिदिएकाले धामी महाकाली नदीमा खस्न पुगेकाे बताएका थिए ।
छानबिन समितिले एसएसबीको संलग्नतामा पुन: अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरेकाे गृहमन्त्रालयले जनाएकाे छ ।
मृतक धामीका परिवारलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउनुपर्ने, थप अनुसन्धानका लागि भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्थापनका लागि समितिले प्रतिवेदनमा सिफारिश गरेको गृहमन्त्रालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


