लुम्बिनीका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिनुभएकाे छ । आइतबार बिहान प्रदेशप्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाउनुभएकाे हाे ।
प्रदेश प्रमुखको कार्यालयले पनि मुख्यमन्त्रीकाे राजीनामा आएकाे पुष्टी गरेकाे छ । राजीनामा प्रदेशप्रमुखले स्वीकृत गर्नुभएकाे छ ।
संविधानको धारा १६८ को २ बमोजिम नेकपाबाट मुख्यमन्त्री बनेका पोखरेलले संविधानको धारा १६८ को १ बमोजिम सरकार गठन गर्न मार्गप्रशस्त गर्न भन्दै राजीनामा पत्रमा उल्लेख छ ।
मुख्यमन्त्रीको राजीनामासँगै लुम्बिनी प्रदेशमा सत्ता–समीकरणको खेल उथलपुथल भएको छ । माओवादीबाट एमाले प्रवेश गरेका दुई र जसपाबाट मन्त्री बनेका चार सांसद सम्बन्धित पार्टीकाे निर्णय अनुसार कारबाहीमा परेपछि प्रदेशसभा अहिले ८१ सदस्यीय छ ।
वैशाख ६ मा पोखरेलविरुद्ध कांग्रेस–माओवादीसहितका दलले ल्याएकाे अविश्वास प्रस्तावमाथि आज नै विशेष अधिवेशनमा छलफल गर्ने कार्यसूची रहेकाे छ । अव बिशेष अधिवेशन बस्ने नबस्ने अनिश्चित छ ।
मुख्यमन्त्री पोखरेललाई विश्वासको मत जित्न ४१ सांसद आवश्यक पर्छन् । एमालेको कुल सांसद संख्या पनि ४१ नै हुँदा पनि फ्लाेर क्रस हुन सक्ने भयले मुख्यमन्त्रीले राजीनामा दिनुभएकाे हाे ।

