गण्डकीमा सभामुखकाे राजीनामा माग्दा ….
गण्डकी प्रदेशका एमाले सांसद मनबहादुर गुरुङले घुमाउराे भाषाले सभामुखकाे नेत्रनाथ अधिकारीको राजीनामा मागेपछि गुरूङकाे भनाईकाे केही अंश नै प्रदेश सभाकाे रेकर्डबाट हटाइएकाे छ ।
प्रदेश सरकारविरुद्ध विपक्षी गठबन्धनले ल्याएको अविश्वास प्रस्तावमाथि मतदान गर्ने कार्यसूची बढिसक्दा एकाएक सूचना टाँसेर स्थगित गरेको भन्दै नैतिकताका आधारमा कार्य ब्यवस्थाका नेतृत्वकर्ता र अन्यले समेत राजीनामा दिनुपर्दैन ? सरकारले स्थगित गरेकाे हाे र? भन्दै गुरूङले सभामुख नेत्रनाथ अधिकारीको राजीनामा माग गर्नुभएकाे हाे ।
सांसद गुरुङले कार्यब्यवस्थाकाे निर्णय र सभामुखकाे निर्णयकाे बारेमा आलाेचना गरेपछि सभामुख अधिकारीले नियमावली अनुसार भनाई राख्न सुझाउनुभएकाे थियाे । गण्डकी सरकारले सोमबार पेश गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सांसद गुरूङले राजीनामाकाे प्रसङ्ग ल्याउनुभएकाे हाे ।
बुधबार बोल्ने अन्तिम सांसद रहेका मनबहादुरले आफ्नो भनाइ सकेपछि सभामुख अधिकारीले सांसद गुरूङको भनाइ रेकर्डबाट हटाउने जानकारी गराउनुभयाे।
गण्डकी सरकारले विश्वासको मत लिएर मात्रै बजेट सम्बन्धी कार्य अघि बढाउनुपर्ने विपक्षी दलहरुको माग छ। विपक्षी दलका सांसदहरुले भने गण्डकी सरकार अवैधानिक रहेको आरोप लगाएका छन् ।
प्रदेश सभा नियमावलीमा सभामुखको निर्णयको आलोचना गर्न नहुने प्रावधान उल्लेख छ। त्यस्तै प्रदेश सभा नियमावली २०७४ को नियम (२०) मा सांसदले बोल्न पाउने अधिकारलाई गलत मनसायले दुरुपयोग गर्न नपाउने उल्लेख छ ।

