अझै प्रतिक्रान्तिकाे खतरा टरेकाे छैनः प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले मुलुकमा अझै प्रतिक्रान्तिको खतरा रहेको बताउनुभएकाे छ । प्रेस सेन्टरकाे चाैंथाे महाधिवेशनलाइ चितवनमा सम्बाेधन गर्दै अध्यक्ष प्रचण्डले मुलुकमा लामो संघर्षबाट प्राप्त उपलब्धिहरुलाई उल्ट्याउने षड्यन्त्र भइरहेको औल्याउँदै त्यसको प्रतिकारका लागि कलमको भूमिका नै महत्वपूर्ण रहनेमा जोड दिनुभयाे ।

अध्यक्ष प्रचण्डले एमालेले केही दिन अघि चितवनमा भएको महाधिवेशन लाई कुम्भ मेलाको संज्ञा दिँदै विचार तथा राजनीतिबाट एमाले टाढा पुगिसकेको जिकिर गर्नुभयाे । सम्बाेधनका क्रममा उहाँले पञ्चायतकालीन मण्डलेकरण प्रतिगमकारी शक्ति, तत्व र प्रवृत्तिलाई जनताले असफल बनाउने बताउनुभयाे ।
अध्यक्ष प्रचण्डले अहिलेको गठबन्धनको यसरी नै अघि बढ्ने भन्दै गठबन्धन टुटाउन प्रयास भैरहेपनि सफल नहुने बताउनुभयाे ।
‘विगतको सरकारले अघि बढाएको सञ्चार सम्बन्धि कानुन रोक्नको लागि छलफल भएको, उहाँले भन्नुभयाे ,‘यसलाई सच्चाएर अघि बढ्ने छ ।’
यस्तै गठबन्धनको सहमतीबाट नै प्रधानन्याधीश चोलेन्द्र समशेर राणालाई महाअभियोग लगाउने, र एमसीसीको विषयमा गठबन्धनमा सहमति भएर अघि बढ्ने प्रचण्डकाे भनाइ छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले लोकतन्त्र, प्रेस स्वतन्त्रता र सरकारले लिएका नीतिहरुको बिषयमा प्रेस सेन्टरले स्पष्ट धारणा बनाउनेमा विश्वस्त रहेको बताउनुभयाे ।
त्यस्तै प्रेस सेन्टरका संस्थापक नेता ओम शर्माले हरेक संघर्षमा अग्रणी भूमिका खेलेको संगठनले समाजवादको आधार तयार पार्न निखारताका साथ लाग्नु पर्ने धारणा राख्नुभयाे ।
यस्तै समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठ, अखिल (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह, अनेमसंघ (क्रान्तिकारी) का अध्यक्ष अमृता थापामगरले कार्यक्रममा शुभकामना मन्तव्य राख्नुभएकाे थियाे । प्रेस सेन्टरका संयोजक महेश्वर दाहालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव विष्णु सापकोटा(जुगल)ले गर्नुभएकाे थियाे । आइतबार सम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

