प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दैमा, असार २८ मा पेशी

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा पक्ष विपक्षकाे बहसका, पक्षका जवाफी बहसका साथै एमिकस क्युरीकाे राय लिने क्रम सकिएको छ । बहस सकिएसँगै अब असार २८ गते बस्ने संवैधानिक इजलासमा विघटन सम्बन्धि मुद्दाकाे पेशी ताेकिएकाे छ ।

सोमबार रिट निवेदक पक्षका कानुन व्यवसायीले जवाफी बहसमा सहभागी भएका थिए । त्यस्तै एमिकस क्युरीका रुपमा चयन भएका राघवलाल वैद्य, उषा मल्ल पाठक, कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीले राय दिएका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहित १४६ सांसदले सर्वोच्च अदालतमा रिट दायर गर्दै धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश माग गरेका छन् । उक्त रिटमाथि प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ जारी छ ।

इजलासले रिट निवेदक र विपक्षीबाट असार १० गतेसम्म नै बहस नोट मागिसकेको र स्राेतका अनुसार २८ गते नै फैसला सुनाउने गरी तयारी हुँदैछ । फैसलाले मुलुककाे राजनीतिक मार्ग निर्वाचन या संसद पुनःस्थापना कता जाने भन्ने निर्क्याैल हुने अपेक्षा छ ।

Facebook Comments