दीप बस्न्यातलाई धरौटीमा र उज्यालाे नेटवर्कका पत्रकारलाई तारेखमा छाड्न सर्वाेच्चकाे आदेश
सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वसचिव दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
बस्न्यातले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले धरौट वा जमानत दिए लिई तारेखमा छाड्न आदेश दिएको हो ।
साेही मुद्दामा थुनामा रहेका शाेभाखर ढकालकाे सम्बन्धमा भने न्याधीशहरूकाे मत बाझिएकाे छ । खतिवडाले ३ कराेड धराैटीमा छाड्न र भट्टराइले थुनामा राखेर अनुसन्धान गर्ने विशेष अदालतले दिएकाे यसअघिकै आदेश नै सदर गर्नुभएकाे हाे ।
त्यस्तै सर्वाेच्चले उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक अनिश तामाङ र महा प्रबन्धक प्रभात लामालाई थुनामुक्त गर्न आदेश गरेको छ।
प्रभात लामा भन्ने दुर्गालाल लामासमेतको हकमा ललितपुर पत्रकार महासंघले हालेको बन्दीप्रत्येक्षीकरण रिटमा सर्वाेच्चले थुनामुक्तकाे आदेश जारी गरेकाे हाे ।
न्यायाधीश ईश्वर खतिवडाको संयुक्त इजलासले उनीहरूलाई तारेखमा राखेर पनि अनुसन्धान गर्न गर्न सकिने अवस्थामा प्रहरीले गरेको पक्राउ अनुचित र गैरकानुनी भएको ठहर गरेकाे छ।
प्रहरीले कार्यकारी सम्पादक तामाङ र महाप्रबन्धक लामालाई विद्युतीय कारोबार ऐन र राज्यविरूद्ध कसुरसम्बन्धी मुद्दा दर्ता गरेकाे थियाे ।
प्रधानमन्त्री र भारतीय खुफिया एजेन्सी ‘र’ का वीच सम्झाैता भएकाे भन्ने समाचार प्रकाशित गरेकाे थियाे । पछि भुलवश भन्दै माफी मागेर साे समाचार सामग्री उज्यालाे नेटवर्कले हटाएकाे थियाे । तर पनि प्रहरीले वैशाख १२ गते उनीहरूलाइ पक्राउ गरेको थियो।

