माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन
नेकपा (माओवादी केन्द्र) को दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् ।
एमालेभित्रका पूर्वमाओवादी नेता लीलाबहादुर थापाको नेतृत्वमा रामचन्द्र मण्डल, गिरिधारिलाल न्यौपानेलगायतले दल दर्ता खारेजीको माग गर्दै आयोगमा निवेदन दर्ता गराएका हुन् ।
नेकपा (माओवादी केन्द्र)काे महाधिवेशन नै नभएकाले साे दलकाे वैधानिकता सकिएकाे निवेदनमा उल्लेख छ । एमालेमा गएका पूर्वमाओवादी नेताहरुले अधिवक्ता सरोज बुढाथोकीमार्फत बुधबार आयोगमा माओवादी केन्द्रले वैधानिकता गुमाइसकेको भन्दै संविधान राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम खारेजको माग गरेका हुन् ।
निवेदनमा ०६९ सालयता माओवादी केन्द्रको कुनै महाधिवेशन नभएको दावी गरिएकाे छ । सर्वोच्च अदालतले २३ फागुनमा नेकपा खारेज गरेपछि एमालेमा लागेका सांसद टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई कारबाही गरेको थियो ।

