हैटीका राष्ट्रपतिको गाेली हानेर हत्या
द्वन्दग्रस्त मुलुक हैटीका राष्ट्रपतिको गाेली हानेर हत्या भएको छ। समाचार संस्था राेयटर्सका अनुसार राष्ट्रपति जोभेनल मोइसेको घरमा नै बुधबार गोली हानेर हत्या गरिएको जनाएको छ।
घटनामा उनकी श्रीमती पनि घाइते भएकाे र उपचार भइरहेकाे पनि समाचारमा उल्लेख छ ।
५३ वर्षीय मोइसे सन् २०१७ मा हैटीको राष्ट्रपति बने लगत्तै देशमा भ्रष्टाचार बढेको भन्दै सन् २०१८ देखि राजीनामा माग हुँदै आएको थियो।
गत फेब्रुअरीमा मोइसेको कार्यकाल सकिएपनि असंवैधानिक तरिकाले सत्तामा रहेको भन्दै हैटीका नागरिकले सडकमा विराेध प्रदर्शन गर्दै आएका थिए ।
बुधबार बिहानै स्पेनिस भाषा बोल्ने केही मानिसहरूले राष्ट्रपति मोइसेको निजी निवासमा आक्रमण गरेको अन्तरिम प्रधानमन्त्री क्लाउडे जोसेफको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै मुलुकमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएकाे छ ।

