गण्डकीका मुख्यमन्त्री गुरूङले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ ।
मुख्यमन्त्रीले २७ गते विश्वासको मत लिने पत्र सचिवालयमा पठाएको प्रदेश सभा सचिव हरिराज पोखरेलले जानकारी दिनुभयाे । विश्वासको मत लिनुभन्दा २ दिनअघि संसद सचिवालयमा जानकारी दिनुपर्ने प्रावधान रहेकाे छ ।
अविश्वासकाे प्रस्ताव पेश भएपछि एकाएक राजीनामा दिनुभएका गुरूङ प्रदेश सभामा ठूलो दलको नेताका हैसियतले वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट मुख्यमन्त्री नियुक्त हुनुभएकाे थियाे ।
६० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ३१ सांसदको समर्थन आवश्यक पर्छ । मुख्यमन्त्रीको दल नेकपा एमालेसँग २७ सांसद छन् भने स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन पनि एमालेलाई छ ।
मुख्यमन्त्रीले विश्वासको मत हाँसिल गर्ने संभावना भने कम रहेकाे छ भने विपक्षीले पनि सजिलै बहमुत जुटाउन सक्ने अवस्था छैन । यस्ताे अवस्थामा प्रदेश सभा विघटनकाे चर्चा पनि चलेकाे छ ।
जेठ २७ गते मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा पदमुक्त भई संविधानको धारा १६८(५) बमोजिम सरकार निर्माणको प्रक्रिया अगाडि बढ्ने छ । यसमा प्रदेश सभाका कुनै एक सदस्यले बहमत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ ।

