अफगानिस्तानमा तालिवानद्वारा नयाँ सरकार घाेषणा
तालिबानले अफगानिस्तानमा आफ्नो नेतृत्वमा अन्तरिम सरकारको घोषणा गरेकाे छ । तालिबानले नयाँ सरकार गठनसँगै अफगानिस्तानलाई ‘इस्लामिक इमिरेट्स’ बनाएकाे जनाएकाे छ ।
मुल्लाह मोहम्मद हसन अखुन्दी प्रधानमन्त्री चयन हुनुभएकाे छ भने नयाँ मन्त्रीपरिषदमा तालिबानका शीर्ष नेताहरु समेटिएका छन् ।
प्रधानमन्त्री चयन हुनुभएका तालिबानका संस्थापक मध्ये एक अखुन्दीलाइ संयुक्त राष्ट्रसंघले कालोसूचिमा राखेकाे छ ।
तालिबानले गएको अगस्ट १५ मा अफगानिस्तानको अधिकांश क्षेत्रमा कब्जा जमाएको हो । उसले यसअघिको निर्वाचित सत्तालाई हटाएर आफ्नो नेतृत्वमा सरकार गठन गरेको हो ।
अफगानिस्तानमा तालिबानको स्थायी सरकार बनाउनका लागि अहिलेको अन्तरिम सरकार महत्वपूर्ण रहने तालिबानले बताएको छ । बिशेष गरी तालिवानले महिलाहरूमाथि कस्ताे ब्यवहार अपनाउँछ भन्ने बिषय चासाेपूर्ण रहेकाे छ । महिला अधिकारका पक्षमा अफगानिस्तानमा पछिल्ला दिनहरूमा प्रदर्शन भइरहेकाे छ ।
तालिबानका सर्वोच्च नेता मौलवी हिबातुल्लाह अखुन्दजादाले जारी गरेको वक्तव्यमा तालिबान सरकारलाई अफगानिस्तानमा शरिया कानून लागु गर्न भनिएको छ ।
याे पटक तालिबान महिलाहरूप्रति अलिक लचिलाे बन्ने संकेत गरेकाे छ भने अन्तर्राष्ट्रिय समर्थन जुटाउन उसले राष्ट्रिय मूल्य र इस्लामिक कानूनसँग नबाझिने सबै अन्तर्राष्ट्रिय कानून र सन्धिहरु मान्ने जनाएकाे छ ।

