नेपाल-खनाल समूहले सांसदकाे राजीनामाबारे छलफल गर्दै

नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदहरुले राजीनामा दिनेबारेकाे छलफल स्थायी कमिटीमा हुने भएकाे छ ।

यसअघि शनिबारसम्म अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूसँगकाे छलफलमा कुनै सहमति जुट्न नसकेपछि सांसदहरूकाे राजीनामा गर्ने विकल्पमा छलफल भएकाे हाे ।

एमालेबाट निर्वाचित सांसदहरूकाे राजीनामाले केपी शर्मा ओलीलाई संसदमा विश्वासकाे मत हाँसिल गर्न असम्भवप्रायः हुनेछ ।

नेपाली काँग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासकाे मत नदिने निर्णय गरिसकेका छन् । जसपमा पनि विश्वासकाे मत दिने कि नदिने भन्नेमा मत विभाजित भएकाे छ । यस्ताेमा नेपाल निकट सांसदहरूले राजीनामा दिएमा केपी शर्मा ओलीलाई झनै अफ्टेराे पर्नेछ ।  

शनिबार साँझ बसेको सांसदहरुको बैठकले २ जेठ २०७५ मा फर्कन अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार साँझसम्मकाे अल्टिमेटम दिएका छन् । संसदमा अनुपस्थित हुने, पार्टीकाे ह्वीप उल्लङ्घन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीकाे विपक्षमा मत दिन भन्दा राजीनामा नै उपयुक्त र राजनीतिक निर्णय हुने साे समूहकाे ठहर छ ।

तर अदालतको फैसलाअनुसार २०७५ जेठ २ अघिकाे पार्टी कमिटी, विधान र नेतृत्व मान्नुपर्ने माधवकुमार नेपाल पक्षकाे शर्त छ ।

तर त्यसमा ओली तयार नभएपछि नेपाल निकट सांसदहरू सामुहिक राजीनामा गर्न तयार भएका हुन् । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका निम्ति भोलि संसद्को अधिवेशन बोलाइएको छ ।

Facebook Comments