विराेधका वीच बालुवाटारमा संवैधानिक परिषद् बैठक

सभामुख अग्नि सापकोटा र प्रतिपक्ष दल कांग्रेसका नेता शेरबहादुर देउवाकाे अनुपस्थितिमै संवैधानिक परिषद् बैठक बसेकाे छ ।

प्रधानमन्त्रीकाे निजी निवासमा भएकाे बैठकमा परिषद्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्याधीश चाेलेन्द्र समशेर जवरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाकाे उपस्थिति रहेकाे छ ।

देउवाले सरकारले परिषद् सम्बन्धि जारी गरेकाे अध्यादेशप्रति विमित जनाउँदै बैठकमा आफूले पनि भाग नलिने र अरु सदस्यलाई पनि भाग नलिन आग्रह गर्नुभएकाे थियाे ।

उहाँले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारले अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गर्दै संसदीय मूल्य मान्यता प्रतिकुल र लोकतान्त्रिक अभ्यासमै प्रहार गरेको बताउनुभएकाे थियाे ।

त्यस्तै सभामुख अग्निप्रसाद सापकाेटाले पनि संवैधानिक नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा गएकाले त्यसैको निरन्तरता हुने बैठकमा सहभागी नहुने बताउनुभएकाे थियाे ।

बैठक स्थगित गर्न माग गर्दै त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि संवैधानिक परिषद्को बैठकमा सहभागी नहुन सदस्यहरुलाई आग्रह गर्नुभएकाे थियाे ।

यसअघि माधवकुमार नेपालले पनि असंवैधानिक काम गर्न भन्दा काेभिडकाे उपचारमा ध्यान केन्द्रित गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे थियाे ।

Facebook Comments