प्रधानमन्त्री विश्वासको मत हाँसिल गर्न असफल

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा आफ्नो विश्वास गुमाउनुभएको छ । धारा १०० को उपधारा १ बमोजिम प्रतिनिधिसभामा आफूलाई विश्वासको मत दिनको लागि सदन समक्ष प्रस्ताव पेश गर्नुभएकोमा बहुमतले प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मतदान गरेका हुन् ।

संसद बैठकमा २ सय ३२ जना सांसदहरु उपस्थित रहेकामा ९३ मत प्रस्तावको पक्षमा मत दिन्न भन्ने पक्षमा १२४ र तटस्थ १५ मत रहेको सभामुख सापकोटाले जानकारी दिनुभएको हो ।


नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह, राष्ट्रिय जनमोर्चाले विपक्षमा मतदान गरे भने जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष तटस्थ रह्यो ।

सत्तारुढ एमालेमा केपी शर्मा ओली निकट सांसदहरुले मात्र प्रधानमन्त्रीको प्रस्तावको पक्षमा मतदान गरेका थिए । एमालेकै बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका सांसदहरु पार्टीको ह्वीप बेवास्ता गर्दै मतदानमा अनुपस्थित रहेका हुन् ।

संविधानको धारा १०० को उपधारा १ बमोजिम प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्न सक्ने प्रावधान अनुसार प्रधानमन्त्रीले विश्वासको मत माग गर्नुभएको हो ।

संविधानको धारा १००को उपधारा ३ मा उपधारा (१) र (२) बमोजिम पेश भएको प्रस्ताव प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने उल्लेख छ ।

Facebook Comments