गण्डकीका मुख्यमन्त्री गुरूङले विश्वासकाे मत लिदैं

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले पेश गर्नुभएकाे निवेदन अनुरूप आज बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने प्रस्तावमाथि छलफल एवं मतदान हुँदैछ ।

६० सदस्यीय गण्डकी प्रदेश सभाबाट बहुमत पाउन ३१ जना सांसदको साथ चाहिन्छ। ठूलाे दलकाे नेताका भएकाले बैशाख २९ गते मुख्यमन्त्रीकाे सपथ लिनुभएका मुख्यमन्त्री गुरूङले ३० दिनभित्र विश्वासकाे मत लिनुपर्ने संवैधानिक प्रावधान रहेकाले साेही अनुसारकाे प्रस्ताव प्रदेश सभामा पेश हुन लागेकाे हाे ।

मुख्यमन्त्री गुरूङकाे साथमा नेकपा एमालेका २७ जना मात्रै सांसद छन्। विपक्षी गठबन्धनले विश्वासकाे मत नदिनका लागि ह्वीप जारी गरिसकेका छन् । कुनै नाटकीय घटना विकास नभए मुख्यमन्त्री गुरूङले विश्वासकाे मत पाउने संभावना छैन ।

केन्द्रमा जस्तै गण्डकी प्रदेशमा पनि संसद विघटन गरी मध्यावधि चुनावमा जाने सत्तारूढ दल एमालेकाे दाउ छ ।

मुख्यमन्त्रीबाट गुरूङको विकल्पमा विपक्षी गठबन्धनले नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीकाे नेतृत्वमा सरकार गठनका लागि प्रयास गरिरहेका छन् ।

विपक्षी गठबन्धनमा रहेकाे राष्ट्रिय जनमोर्चाका सांसदकाे मत विभाजित हुँदा नयाँ सरकार गठन पनि त्यति सहज देखिएकाे छैन । स्वतन्त्र सांसद राजीव गुरूङले विपक्षी गठबन्धनलाइ साथ दिएमा भने नयाँ सरकार गठन हुन सक्ने छ । राजीव मुख्यमन्त्री पृथ्बीसुब्बाकै मन्त्रीमण्डलमा रहेकाले विश्वस्त हुने अवस्था भने विपक्षसँग रहेकेा छैन ।

Facebook Comments