एमाले विवादः आइतबार सहमति हुने अर्को भाका
नेकपा एमालेमा एकताका लागि प्रयासरत कार्यदलका नेताहरूले सहमति हुन लाग्याे भनेर पत्रकारसँग भन्न थालेकाे धेरै भइसकेकाे छ ।
शुक्रबार नै सहमति हुन लागेकाे बताएका नेताहरू साँझ शनिबार सहमति हुने भन्दै निस्केका थिए । शनिबार अर्थात आजका लागि सहमति निश्चित भएकाे बताएका कार्यदलका नेताहरूले भोलि आइतबारको अर्को भाका राख्दै आइतबार सहमति हुने बताएका छन् ।
लामो समय अनौपचारिक र सोमबारदेखि निरन्तर कार्यदलस्तरमा वार्ता गरेका दोस्रो तहका नेताहरुले शुक्रबार नै सहमतिनजिक पुगेको दाबी गरेका थिए ।
तर शनिबार सिंहदरबारमा बसेको कार्यदलको बैठकले पनि सहमतिलाई अन्तिम रुप दिन नसकेपछि आइतबारको पुनः बैठक बस्ने बताइएकाे छ । कार्यदलका एक सदस्यका अनुसार २ जेठ २०७५ मा फर्किने, एमाले पुनस्र्थापित भएपछि भएका निर्णयहरु फिर्ता लिने लगायतमा सहमति जुटेको छ । सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दामा मौन बस्न अध्यक्ष केपी शर्मा ओली पक्ष तयार देखिएको छ ।
कार्यदलमा अध्यक्ष केपी शर्मा ओली पक्षका संयाेजक सुवास नेम्वाङले भाेली सुखद समाचार सुन्न पाइने बताउनुभएकाे छ । नेपाल पक्षमा भने अझै संशयमा नै रहेकाे छ ।

