सत्ता गठबन्धनलाई लिएर जनता समाजवादीमा मतभेद
केपी शर्मा ओलीलाई विश्वासकाे मत दिने सवालमा मध्यमार्गी बाटाे अपनाएकाे जनता समाजवादी पार्टीमा नयाँ गठबन्धन सरकारकाे सम्बन्धमा विवाद चर्किएकाे छ ।
उपेन्द्र यादव र डा.बाबुराम भट्टराई पक्ष नेपाली काँग्रेस र माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार गठन गर्नुपर्ने भन्दै त्यसकै कसरतमा रहेका छन् । उता पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महताे भने विश्वासकाे मत गुमाइसकेपछि पनि प्रधानमन्त्री केपी शर्मा ओली प्रति नै नरम देखिएकाे छ ।
पूर्व राजपा पक्ष र समाजवादी पार्टी पक्षकाे फरक फरक मत रहेपछि जसपा नै विभाजन हुने अबस्थामा पुगेकाे छ । प्रधानमन्त्रीले विश्वासकाे मत गुमाएपछि अध्यक्ष उपेन्द्र यादव कांग्रेस सभापति शेरबहादुर देउवा,माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगकाे संवादमा रहनुभएकाे छ ।
ठाकुर र महताे भने अहिले सरकारमा जाने नभइ पार्टीका मागहरू पुरा गर्नेतर्फ लाग्नुपर्ने बताउँदै एका छन् ।
जसपामा विवाद हुँदा बहुमतकाे सरकार गठन हुन मुस्किल देखिन्छ ।
जसपाका अध्यक्ष ठाकुरले सोमबार राति नै विज्ञप्ती जारी गरेर जसपा र ओली नेतृत्वको सरकारबीच वार्ता सकरात्मक ढंगले अघि बढेको भन्दै मुद्दा सम्बोधनलाई नै ध्यानमा राखेकाे स्पष्ट गर्नुभएकाे छ । ‘कुनै पनि किसिमको वैकल्पिक सरकारको गठनमा हामी संलग्न हुने छैनौँ ,’ ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

