गण्डकी प्रदेश सभा बैठकमा सत्तापक्षकै अवराेध
गण्डकी प्रदेश सभाको शुक्रवारको बैठक सत्तारूढ दल नेकपा एमालेले अवरुद्ध गरेकाे छ ।
सत्तापक्षका सांसदको अवरोधका कारण बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको हो ।
सभामुख नेत्रनाथ अधिकारीले बैठक सुरु गरेसँगै एमालेका सांसदहरु आ –आफनो स्थानवाट उठेका थिए । पछि सभामुखले किन भनी प्रश्न गर्दा एमालेका मुख्य सचेतक मायानाथ अधिकारीले मन्त्रीहरु उपस्थित नभएका कारण प्रदेशसभा सञ्चालन नियमावली अनुसार बैठक संचालन गर्न नमिल्ने बताउनुभएकाे थियाे । तत्पश्चात सभामुखले आइतबार १ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएकाे हाे ।
जनमोर्चाका थापा पुनः पदमुक्त
बैठकमा सभामुखले राष्ट्रिय जनमोर्चाका तर्फवाट निर्वाचित प्रदेश सभा सदस्य कृष्ण थापा पदमुक्त भएको जानकारी गराउनुभएकाे थियाे ।
थापालाई पदमुक्त गरिएको सम्वन्धमा जनमोर्चाले पठाएको पत्र सभामुखले बैठकमा पढेर सुनाउनुभएपछि थापा फेरि पदमुक्त हुनुभएकाे हाे ।
यसअघि पनि राजमाेले गण्डकीमा नेपाली काग्रेसको नेतृत्वमा गठन हुने सरकारलाई समर्थन गर्न सांसदहरुलाई ह्वीप जारी गरेकाेमा थापाले उल्लघंन गरेपछि थापालाई प्रदेश सभा सदस्यवाट हटाइएको थियाे । थापालाई २३ जेठमा अदालतले पुनःबहाली गरेको थियो ।

